३१औं नेपाली भाषा दिवस पालन गर्न कार्य पहल शुरु

Bhasa-Diwas

दार्जीलिङ: भारतमा आजसम्म नेपालीहरुले संवैधानिक रुपमा पाएको भनेको नेपाली भाषा मात्र होl यस वर्ष ३१औं नेपाली भाषा मान्यता दिवस समग्र जीटीए क्षेत्रभरि भव्यताका साथ पालन गरिने भएको छl यसपाली सबै मिलेर सामूहिक रुपमा नेपाली भाषा दिवसको कार्यक्रम गरिने भएको छl जसलाई जीटीए र दार्जीलिङ नगरपालिकाले सहयोग पुर्याउनेछl यसको निम्ति नेपाली भाषा अनुसन्धान एवं विकास केन्द्र (नेपाली अकादमी) ले विशेष पहल शुरु गरेको छl

यसको निम्ति २ अगस्तको दिन नेपाली अकादमीको पहलमा विभिन्न साहित्यिक, सांस्कृतिक, सामाजिक साथै राजनैतिक पार्टीहरुलाई लिएर गोर्खा रंगमंचमा सभा सम्पन्न भएको थियोl सभामा जीटीएका मुख्य कार्यपाल अनित थापा, दार्जीलिङ नगरपालिकाका अध्यक्ष रितेश पोर्तेल, सूचना एवं सांस्कृतिक विभागका भारप्राप्त सभासद, निर्देशक, सहनिर्देशक साथै जिल्लाभरिका करिब ४० वटा साहित्यिक, सांस्कृतिक, सामाजिक साथै राजनैतिक पार्टीका प्रतिनिधीहरु सहभागी रहेका थिएl सबै पदाधिकारी तथा प्रतिनिधिहरूले आआफ्ना व्यक्तिगत र संस्थागत, सामाजिक र राजनैतिक विचारहरूलाई ताकमा राखी भाषा मात्रको लागि भेला भई नेपाली भाषाको प्रयोग, प्रगति र प्रसारको निम्ति आआफ्ना बहुमूल्य सुझावहरू प्रस्तुत गरेको नेपाली अकादमी सञ्चालन समितिका    संयोजक गोकुल सिन्हाले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्। ‘नेपाली अकादमीलाई मात्र होइन, नेपाली भाषाको संवैधानिक मान्यताको निम्ति आफ्नो दिलोज्यान दिनुहुने जीवित र दिवङ्गत साराका सारा भाषा-सङ्ग्रामीहरूलाई पनि अनुगृहित तुल्याउनु भएकोमा हामी सबैप्रति कृतज्ञता ज्ञापन गर्दछौँ,’ विज्ञप्तिमा उनले सबैप्रति कृतज्ञता प्रकट गरेका छन्। अपर्झटको आह्वानले गर्दा अझै कतिपय संस्थाहरूले आफ्नो असमर्थताको सूचना मात्र पठाए पनि आउँदो २० अगस्तको दिन सबैको सहभागिता रहने प्रतिश्रुतिले हर्षित बनेको उनले बताएका छन्l सो सभामा सहभागी बनेर सकारात्मक सुझाव, प्रेरणा र उर्जा प्रदान गरिदिएकोमा जीटीएका मुख्य कार्यपाल अनित थापा र दार्जीलिङ नगरपालिकाका अध्यक्ष रितेश पोर्तेलप्रति उनले आभार प्रकट गरेका छन्l सभा सम्पन्न गर्न  सहयोगको निम्ति सूचना एवं सांस्कृतिक विभागका भारप्राप्त सभासद, निर्देशक, सहनिर्देशकहरू सबैलाई धन्यवाद जानेका छन्l ‘नेपाली भाषाको संवैधानिक मान्यता नेपाली भाषीहरूको निम्ति एक ऐतिहासिक दिन हो, एक महान उपलब्धीको दिन हो, एक पर्व हो, एक उत्सव हो। यस दिनलाई भव्यतापूर्वक पालन गरौँ। नेपाली भाषी सम्पूर्णमा हाम्रो आह्वान छ, हाम्रो निमन्त्रणा छ’, संयोजक गोकुल सिन्हाले सबैलाई यसरी आहवान गरेका छन्l   

About Author

Advertisement