गान्तोक: सोरेङ जिल्लाको विभिन्न विद्यालयका माध्यमिकस्तरका विद्यार्थीहरूलाई दुई दिवसीय राज्यस्तरीय अध्ययन भ्रमणको निम्ति आज झण्डा हल्लाएर प्रस्थान गराइयो। शिक्षा विभागको समग्र शिक्षा पहल अन्तर्गत राष्ट्रिय आविष्कार अभियानको ब्यानरमा यो भ्रमण कार्यक्रम आयोजना गरिएको हो।
प्रारम्भिक तहका ९८ विद्यार्थी, एस्कर्ट शिक्षकको साथमा र माध्यमिक तहका ६० जना विद्यार्थीले दुई दिवसीय अध्ययन भ्रमणको क्रममा राज्यका विभिन्न स्थानको भ्रमण गर्ने भएका छन्। यस प्रकारको कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विद्यालय र कक्षाकोठा सिकाइएको विषयलाई व्यवहारिकरूपमा कार्यान्वयन गरिनु रहेको साथै विद्यालयमा विज्ञान, गणित, र प्रविधि सिकाइको सम्भावनाको फाइदा उठाउनु हो।
आरएए- ले विद्यार्थीहरूलाई परम्परागत कक्षाकोठाको वातावरणभन्दा बाहिर विज्ञान, गणित र प्रविधि सिकाइमा संलग्न हुने अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
राष्ट्रिय आविष्कार अभियान बालबालिकाका लागि विज्ञान, गणित र प्रविधि शिक्षालाई रोमाञ्चक बनाउन विद्यालयहरूलाई सहयोग र मञ्च प्रदान गर्न बनाइएको हो। कार्यक्रमले विद्यार्थीहरूलाई कक्षाकोठा र गैर-कक्षा कोठा गतिविधिहरू मार्फत यी विषयहरूमा दिगो रुचि विकास गर्न प्रोत्साहित गर्दछ।