चामलिङ दुईवटा निर्वाचन क्षेत्र पोकलोक कामराङ र नाम्चेबुङबाट चुनाउ लड्ने
गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आफ्ना उम्मेदवारहरूको सूचीमा फेर-बदल गरेको छ। एसडीएफले पश्चिम सिक्किमको रिन्छेनपोङ र पूर्व सिक्किमको रिनाकका लागि पूर्व घोषित उम्मेदवारहरूको सट्टामा नयॉं उम्मेदवारहरूको नाम घोषणा गरेको छ।
एसडीएफले हिजो तीन चरणमा उम्मेदवारहरूको सूची सार्वजनिक गऱ्यो। यद्यपि, हिजो राति नै उम्मेदवारहरूको एउटा संशोधित सूची जारी गरियो, जसमा उम्मेदवारहरूको नाम फेर-बदल गरिएको जनाइएको छ।
संशोधित सूचीमा रिन्छेनपोङ समष्टिबाट नोर्देन भोटिया र रिनाक समष्टिबाट सोमनाथ पौड्याललाई उठाएको उल्लेख छ। पहिले रिन्छेनपोङबाट सोनाम पाल्देन भोटिया र रिनाकबाट डा. संगीता भण्डारीको नाम थियो।
हिजो अबेर राति जारी गरिएको अन्तिम सूचीमा पॉंच निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम घोषणा गरिएको छ।
उम्मेदवारहरूको यस प्रकार छन्ः
१. मानेबुङ देन्ताम- टीआर खुलाल
२. गेजिङ बर्मेक- डा. टिका नेपाल
३. नामथाङ रातेपानी- सुमन प्रधान
४. वेस्ट पाण्डाम- अनुप ठटाल
५. नाम्चेबुङ- पवन चामलिङ
उल्लेखनीय छ, एसडीएफ अध्यक्ष पवन चामलिङ दुईवटा निर्वाचन क्षेत्र पोकलोक कामराङ र नाम्चेबुङबाट चुनाउ लड्ने भएका छन्।









