३ अगस्तः बर्मिंघममा जारी राष्ट्रमण्डल खेलहरूका पाँचौं दिन भारतले दुईवटा स्वर्ण र दुईवटा रजत पदक जित्यो। लन बल्सको विमेन्स फोर्स इभेण्टमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरी ऐतिहासिक स्वर्ण पदक हासिल गऱ्यो। त्यसपछि पुरुष टेबल टेनिस टीमले फाइनलाम सिंगापुरलाई पराजित गरी स्वर्णिम सफलता हासिल गऱ्यो। ब्याडमिण्टनको मिक्स्ड टीम इभेण्टको फाइनलमा मलेशिया विरुद्ध हारेर भारतले रजत पदकमै चित्त बुझाउनु पऱ्यो। यसरी नै वेट लिफ्टिंगमा विकास ठाकुरले ९६ किग्रा वर्गमा रजत पदक जिते। यसरी भारत अहिलेसम्म १३ वटा पदकको साथ पदक तालिकाको छैटौं स्थानमा रहेको छ।
भारतलाई पाँचौं दिन पहिलो स्वर्ण पदक लन बल्समा हासिल भयो। भारतकी विमेन्स फोर्स टीमले फाइनलमा दक्षिण अफ्रिकालाई १७-१०-ले पराजित गऱ्यो। यसरी भारत राष्ट्रमण्डल खेलहरूका ९२ सालको इतिहासमा पहिलोपल्ट लन बल्समा कुनै पदक जित्न सफल भयो। फाइनल म्याचमा भारतीय खेलाड़ी लवली चौबे, पिंकी, नयनमोनी सैकिया र रुपा रानी तिर्कीले असाधारण प्रदर्शन गरिन्। यसरी नै भारतले पुरुष टेबल टेनिस टीमले फाइनलमा सिंगापुरलाई ३-१-ले पराजित गरी स्वर्ण पदक जित्यो। जी साथियान र हरमीत सरदेसाईले आ-आफ्नो सिंगल्स म्याच जिते। यसको साथमा यी दुईले जोड़ी बनाएर डबल्स म्याचमा पनि जीत हासिल गरे।










