गान्तोक: १९ अप्रेलको दिन हुने लोकसभा र राज्य विधानसभा चुनाउलाई लिएर सिटिजन एक्शन पार्टी, सिक्किमले आज दोस्रो चरणको उम्मेद्वारको सूची जारी गऱ्यो। पार्टीले दोस्रो चरणमा एक लोकसभा अनि तीन विधानसभा आसनमा उम्मेद्वारको नाम सार्वजनिक गरेको छ। लोकसभा उम्मेद्वार वरिष्ट राजनीतिज्ञ तथा हाल पार्टीका कार्यकारी अध्यक्ष भरत बस्नेत रहेका छन्। आगामी लोकसभा र विधानसभा चुनाउका लागि उम्मेद्वार चयन गर्न गठन गरिएको पार्टीको संसदीय परिषदका महासचिव प्रशान्त छेत्री अनि अन्यले आज राजधानीमा पत्रकार सम्मेलन डाकेर दोस्रो चरणको सूची जारी गरेका हुन्।

आज नाम घोषित गरिएका तीन विधानसभा उम्मेद्वारमा लोचेन मंगन समष्टिबाट श्रीमती सङ्गमित लेप्चा, नाथाङ माछोङ समष्टिबाट श्रीमती फुरी शेर्पा र रिनाक समष्टिबाट टीका राम शर्मा रहेका छन्। अहिलेसम्म घोषित सिटिजन एक्शन पार्टीका उम्मेद्वारहरूमा तीन जना महिला रहेका छन्। उल्लेखनीय छ, यस अघि पहिलो चरणमा सिटिजन एक्शन पार्टीले जम्मा १४ जना उम्मेद्वारको नाम घोषणा गरेको थियो। यसरी अहिलेसम्म सिटिजन एक्शन पार्टीले एक लोकसभा लगायत १७ विधानसभा आसनमा उम्मेद्वारको नाम घोषणा गरिसकेको छ।
पत्रकारहरूसित कुराकानी गर्दै रहल उम्मेद्वारहरूको नाम पनि भोलिसम्ममा घोषणा गरिने पार्टीको संसदीय परिषदका महासचिव प्रशान्त छेत्रीले जानकारी गराएका छन्।









