सभासद नवराज छेत्री चिफ् को-अर्डिनेटर चयन
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त चुनावी सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टी जोनल कमिटीको सांगठनिक सचिव जनक छेत्री आदिले वक्तव्य राखेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिद्वारा भागोप्रमो समर्थित लोकसभाको प्रार्थी गोपाल लामालाई जिताउन समष्टीको हरेक शाखा प्रशाखाहरूमा खट्ने र जिताउने आह्वान् गरिएको छ। यसै सभामा लोकसभा चुनावलाई ध्यानमा राखेर भागोप्रमो तीनधारे महानदी समष्टिमा चुनावी कमिटी गठन गरिएको छ। उक्त चुनाव कमिटीमा चिफ् को-अर्डिनेटरको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीलाई चयन गरिएको छ। यसको साथै तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, रञ्जीत थापा, सागर गुरुङ, निरा प्रधान, राजु लामा, धिरेन प्रधान सञ्जीव मंगर लगायत समष्टीभरिको पदाधिकारीहरू जम्मा ३५-३६ जनालाई सप को-अर्डिनेटरको रूपमा चयन गरिएको छ। त्यसरी नै मुख्य सल्लाहकारको रूपमा शेखरचन्द्र प्रधान, प्रेम प्रधान लगायत अन्यहरूलाई चयन गरिएको छ। यसै सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको कार्यालय सचिवको रूपमा बिपन विश्वकर्म, मनोहर थापा, सुभम प्रधान, शुभंकर प्रसाद र पासाङ शेर्पालाई चयन गरिएको छ। उक्त चुनावी सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता एंव सांगठनिक सचिव बिपन विश्वकर्मले आज भागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको र उक्त सभामा भागोप्रमो समर्थित लोकसभाको प्रार्थी गोपाल लामालाई जिताउन समष्टीको हरेक शाखा प्रशाखाहरूमा खट्ने प्रण गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार चुनावलाई ध्यानमा राखेर चुनाव कमिटी गठन गरिएको र मुख्य को-अर्डिनेटरको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीलाई चयन गरिएको अनि समष्टीभरिको पदाधिकारीहरूलाई सप को-अर्डिनेटरको रुपमा चयन गरिएको र मुख्य सल्लाहकारहरू पनि चयन गरिएको जानकारी गराएका छन्।









