गान्तोक: सिक्किम विश्वविद्यालय भाषा अनि साहित्य सङ्कायअन्तर्गत नेपाली विभागले शुक्रबार भारतीय नेपाली साहित्यको विमर्श नाममा एक दिवसीय व्याख्यान शृङ्खला आयोजना गरेको छ।
तीनवटा सत्रमा विभाजित कार्यक्रमलाई सिक्किम विश्वविद्यालयको भाषा अनि साहित्य सङ्कायकी डिन प्राध्यापक रोजी चामलिङले अध्यक्षता गरेकी थिइन् भने कार्यक्रममा मुख्य अतिथिका रूपमा सिक्किम विश्वविद्यालयका कुलसचिव प्राध्यापक लक्ष्मण शर्मा उपस्थित थिए।
कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो सम्बोधनको क्रममा मुख्य अतिथि प्राध्यापक लक्ष्मण शर्माले नेपाली भाषाको भारतीय सन्दर्भ कस्तो हुनसक्छ भन्ने विषयमा जिज्ञासा प्रकट गरेका थिए। भारतीय नेपाली भाषा साहित्यलाई खण्डित होइन तर एकत्रित गराउनुका साथै भारत र नेपालका नेपाली साहित्य अलग विषय हो भन्ने यस कार्यक्रमले देखाउने उनले बताए। भारतीय नेपाली नेपाली साहित्य यहाँको लामो समयको सङ्घर्षको भोगाइ रहेको पनि उनले बताए। यसका साथै अब हामीले कृषि विज्ञान साहित्यमा पनि काम गर्नुपर्ने उनको भनाइ रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख वक्ताको रूपमा उपस्थित कालेबुङ महाविद्यालयका नेपाली विभागका प्राध्यापक सञ्जय छेत्रीले भारतीय नेपाली भाषाको तद्भवीकरण र मानकीकरण विषयमा आफ्नो वार्ता प्रस्तुत गरेका थिए। भाषाको कथ्य रूपममा स्थानीय शब्दहरू आउँछन् साथै नेपाली भाषाको स्थानीय भेद सबैतिर रहेको उनले आफ्नो वार्तामा बताएका थिए। भाषा बेग्लाबेग्लै नभए तापनि स्थानीय भेदहरू भने रहेको उनले बताए। नेपाली भाषाको जन्म खस अप्रभंशबाट भएको हो, संस्कृतबाट भएको होइन भन्ने पनि उनले वार्तामा बताएका थिए।
कार्यक्रम उद्घाटन सत्रमा कार्यक्रम अध्यक्ष प्राध्यापक रोजी चामलिङले भारतमा नेपाली साहित्यको अलग चिह्नारी स्थापित हुन किन आवश्यक छ भन्ने विषयमा सबैले चिन्तन गर्नुपर्ने आवश्यकता रहेको विचार राखेकी थिइन्।
कार्यक्रमको दोस्रो सत्रमा कालेबुङका कवि राजेन्द्र भण्डारीले भारतीय नेपाली गद्याख्यान विषयमा आफ्नो वार्ता प्रस्तुत गरेका थिए। भण्डारीले भारतीय नेपाली साहित्यमा अहिलेसम्म प्रकाशित गद्याख्यानका विविध पक्षहरूमाथि चर्चा गरेका थिए।
कार्यक्रमको दोस्रो सत्रमा उत्तर बङ्ग विश्वविद्यालयका प्राध्यापक सञ्जय राईले भारतीय नेपाली कविता विषयमा आफ्नो वार्ता प्रस्तुत गरेका थिए। उनले भारतीय नेपाली कविताको विषयमा सुत्रात्मक व्याख्यान प्रस्तुत गरेका थिए। उनले भारतीय नेपाली कविताको विकास परम्परामा देखापरेका विविध विषयमा चर्चा गरेका थिए। भारतीय नेपाली कविता वा साहित्यको विमर्श भनेको नै यसमा भारतीयताको खोजी गर्नु रहेको उनले बताए। भारतीय नेपाली कविताका बारेमा विमर्श गर्दा हामीले इतिहासको अवलोकन गर्नु आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रमको तेस्रो सत्रमा उत्तर बङ्ग विश्वविद्यालयका प्राध्यापक पुष्कर पराजुलीले भारतीय नेपाली लोक साहित्यको विषयमा वार्ता प्रस्तुत गरेका थिए। हाम्रो जीवनशैलीमा बसेका कुरा नै हाम्रो लोक हो, हाम्रो विश्वास, मान्यता वा परम्परामा बसेका सबै विषय हाम्रो लोक हो। लोकवार्ता र लोक साहित्यका लागि एउटा लोकको भूगोल हुनु पर्छ, एउटा माध्यम हुनु पर्छ र एउटा इतिहास हुनु पर्छ भन्ने उनको भनाइ थियो। हामीले व्यक्तिगत रूपमा हाम्रो भाषा, इतिहास र भूगोल चिन्यौँ र यसको प्रयोग निरन्तर गऱ्यौँ भने लोकवार्ताको संरक्षण स्वतः हुन्छ। तर यसका लागि हामी सबैमा “हामी” -को भाव हुनु पर्छ। हामीमा “हामी” -को भाव छ भने यसैले भोलि गएर हाम्रो लोकवार्ता र लोक साहित्यको संरक्षण हुनेछ भन्ने उनले आफ्नो वार्तामा चर्चा गरेका थिए।
कार्यक्रमको तेस्रो सत्रमा दार्जिलिङ सरकारी महाविद्यालयका प्राध्यापक राजकुमार छेत्रीले भारतीय नेपाली निबन्ध र समालोचना शीर्षकमा वार्ता प्रस्तुत गरेका थिए।
कार्यक्रममा राजेन्द्र भण्डारीको लेख सङ्कलन सृजन सन्दर्भको विमोचन पनि गरिएको थियो। नेपाली विभाग प्रमुख प्राध्यापक कविता लामाको स्वागत सम्बोधनबाट सुरु भएको कार्यक्रमलाई नेपाली विभागका उप प्राध्यापक देवचन्द्र सुब्बाले सञ्चालन गरेका थिए भने नेपाली विभागका अतिथि प्राध्यापक सुरज गुरुङको धन्यवाद ज्ञापनपछि कार्यक्रम समाप्त भएको थियो।