गान्तोक: सिक्किममा प्रस्तावित लोकसभा र विधानसभा चुनाउको निम्ति आगामी १९ अप्रेलका दिन मतदान हुनेछ। चुनाउ सम्बन्धित अधिसूचना २० मार्चमा जारी भइसकेको छ भने आजसम्म एक उम्मेदवारले मात्र नामाङ्कन पत्र बुझाएका छन्।
नामाङ्कन पत्र बुझाउने आज तेस्रो दिन गान्तोक जिल्ला बाहेक राज्यका अन्य पॉंचवटै जिल्लामा कसैले आफ्नो नामाङ्कन पत्र बुझाएनन्। गान्तोक जिल्ला अन्तर्गत स्यारी निर्वाचन क्षेत्रकी बिना राईले लोकसभा चुनाउको निम्ति एक स्वतन्त्र उम्मेदवारको रूपमा नामाङ्कन पत्र बुझाएकी छन्।
एकातिर यतिका दिनसम्म राजनीतिक दलका एकै जनाले पनि नामाङ्कन पत्र बुझाएका छैनन् भने अर्कोतिर राजनीतिक दलहरूद्वारा आफ्ना उम्मेदवारहरूको नाम घोषणा पनि गरिएको छैन। राज्यको प्रमुख विपक्षी सिक्किम डेमोक्रेटिक फण्ट (एसडीएफ) ले सबैभन्दा पहिला उम्मेदवारहरूको नाम घोषणा गरेको थियो।
एसडीएफले चुनाउ सम्बन्धित अधिसूचना जारी हुनुभन्दा अघि नै पॉंचवटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको थियो। लोकसभा लगायत रहल निर्वाचन क्षेत्रहरूको निम्ति भने उम्मेदवारहरूको घोषणा गरेको छैन। सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले पनि आजसम्म आफ्नो उम्मेदवारहरूको नाम घोषणा गरेको छैन।
सिटिजन एक्सन पार्टी सिक्किमले आज (शुक्रवार) १४ निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ। पार्टीले दोस्रो चरणमा लोकसभा लगायत १८ विधानसभा क्षेत्रको निम्ति उम्मेदवारहरूको नाम घोषणा गर्ने बताएको छ।
भारतीय जनता पार्टी र कांग्रेस जस्ता राष्ट्रिय राजनीतिक दलहरूले पनि आजसम्म उम्मेदवारहरूको नाम घोषणा गरेको छैन। यद्यपि, कांग्रेस पार्टीले प्रदेश अध्यक्ष गोपाल छेत्रीलाई आफ्नो लोकसभा उम्मेदवार अगावै घोषणा गरिसकेको छ। तर, विधानसभा चुनाउको निम्ति भने उम्मेदवारहरूको नाम घोषणा गरेको छैन।
केही राजनीतिक दलहरूबिच गठबन्धनलाई लिएर कुरा तार्किक निष्कर्षमा पुग्न नसकेकाले पनि उम्मेदवारहरूको नाम घोषणा गर्न विलम्ब भइरहेको राजनीतिक विश्लेषकहरू बताउॅंछन्। उम्मेदवारको रूपमा दाबेदारहरूको संख्या अधिक अघि आएकाले पनि पार्टीहरूको टाउको दुखाई बढेको उनीहरू बताउॅंछन्।
केही स्वतन्त्र उम्मेदवारहरूले आगामी चुनाउहरूका लागि आफ्नो उम्मेद्वारिता घोषणा गरेको भए तापनि कसैले आजसम्म नामाङ्कन पत्र भने बुझाएका छैनन्।
अब नामाङ्कन पत्र बुझाउन केवल दुई दिन समय हातमा रहेको छ। भारतको निर्वाचन आयोग अनुसार, सार्वजनिक विदामा नामाङ्कन बुझाउन पाइने छैन। भोलि, शनिवार, आइतवार र सोमवार सार्वजनिक विदाका कारण अब दुई दिन, मंगलवार र बुधवार मात्र नामाङ्कन बुझाउन पाइने छ।
स्मरण रहोस्, २७ मार्च नामाङ्कन पत्र बुझाउने अन्तिम दिन हो। २८ तारिकका दिन नामाङ्कन पत्र जॉंच हुनेछ भने ३० मार्चसम्म उम्मेदवारहरूले आफ्नो नामाङ्कन पत्र फिर्ता लिन सक्नेछन्।