सिटिजन एक्सन पार्टी सिक्किमले जारी गऱ्यो १४ जना विधानसभा उम्मेदवारको सूची

IMG-20240322-WA0297.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले विधानसभाका १४ वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको घोषणा गरेको छ। आज पार्टीले पहिलो चरणमा १४ जनाको नाम सार्वजनिक गऱ्यो भने रहल १८ विधानसभा क्षेत्र र लोकसभाका लागि २४ मार्चभित्र उम्मेदवार घोषणा गर्ने पार्टीले बताएको छ।

सीएपीले पश्चिम सिक्किमको योक्सम-टाशीडिङ निर्वाचन क्षेत्रबाट जिग्मी भोटियालाई उम्मेदवार बनाएको छ भने याङथाङबाट फिपधोज लिम्बू, दरामदिनबाट पेम दोर्जी शेर्पा र जुम-सालघारी निर्वाचन क्षेत्रबाट कौसल लोहागुणलाई उम्मेदवार बनाएको छ।

दक्षिण जिल्लाको नाम्ची-सिङ्गीथाङबाट सीएपीका प्रवक्ता महेश राई उम्मेदवार बनेका छन् जबकी यसै जिल्लाको नामथाङ-रातेपानी निर्वाचन क्षेत्रबाट हरिचन्द्र छेत्रीलाई पार्टीले विधानसभाको उम्मेदवार बनाएको छ। पाकिम जिल्लाको नाम्चेबुङ निर्वाचन क्षेत्रमा सीएपीले सेभेरिन राईलाई उम्मेदवार घोषित गरेको छ।

यता गान्तोक जिल्लाको खामदोङ-सिङ्ताम निर्वाचन क्षेत्रमा सुमती छेत्री सीएपीको उम्मेदवार बनेकी छन् जो पार्टीले अहिलेसम्म घोषणा गरेका मध्ये एकमात्र महिला उम्मेदवार हुन्। यसै जिल्लाको अप्पर तादोङ निर्वाचन क्षेत्रमा रवि गुरुङ, आरिथाङ निर्वाचन क्षेत्रमा रिकेस प्रधान, गान्तोक निर्वाचन क्षेत्रमा दाउछो लेप्चा र अप्पर बुर्तुक निर्वाचन क्षेत्रका लागि भीम कुमार तामाङ सिटिजन एक्सन पार्टीका उम्मेदवार चयनित भएका छन्।

मगन जिल्लाको जङ्गु निर्वाचन क्षेत्रबाट जर्बु छिरिङ लेप्चालाई पार्टीले उम्मेदवार बनाएको छ भने यस जिल्लाका अन्य दुईवटा क्षेत्रका लागि उम्मेदवार घोषित हुन बाँकी छ। सीएपीले संघ सीटका लागि छाम्पो नोर्चो लेप्चालाई उम्मेदवार चयन गरेको छ। पार्टीको संसदीय परिषद्को निर्णयपछि आज पत्रकार सम्मेलन आयोजन गरेर सीएपीले उम्मेदवारको पहिलो सूची जारी गरेको हो।

यी १४ जना उम्मेदवार मध्ये दाउछो लेप्चामात्र विधानसभा चुनाउ जितेर विधायक तथा मन्त्री बनिसकेका व्यक्ति हुन् भने घोषित उम्मेदवार मध्ये सबैभन्दा युवा महेश राई रहेका छन्। पार्टीले पहिलो सूचीमा धेरै युवाहरूलाई उम्मेदवार बनाएको दाबी गरेको र ३२ मध्ये सर्वाधिक युवा उम्मेदवार हुने जसमा महिलाहरूको संख्या पनि अन्य पार्टीको भन्दा ज्यादा रहने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement