दार्जिलिङ: अविरल पानीले सन्दकफुमा व्यापक हिमपात परेपछि फसेका ४० जना जति पर्यटकहरुलाई वन विभाग एसएसबी तथा स्थानीयवासीको सहयोगमा सुरक्षित उध्दार गरिएको छ। विगत केही दिनदेखि अविरल रूपमा परेको झरीले प्रसिद्द पर्यटकीय गन्तव्य सिंहलिला राष्ट्रिय आरण्य क्षेत्रको विभिन्न स्थानहरूमा व्यापक हिमपात भएको थाहा लागेको छ भने सन्दकफु क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको बताइएको छ। हिमापातको कारण सन्दकफु क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। हिमपातले जनजीवन निकै प्रभावित पारेको स्थानीयहरु बताउँछन। हिमपात सन्दकफु फालुट बिखे भञ्ज्याङ् हुँदै कालपोखरीसम्म परेपछि त्यहाँसम्म पुग्ने मार्ग पूर्णतः प्रभावित भएको बताइएको छ। अर्कोतिर हिमपातभन्दा अघि घुम्न आएका ४० जना जति पर्यटनहरुलाई स्थानीय मानिसहरूसँगै वनकर्मी तथा सशस्त्र सीमा बल र ल्याण्डलोभर चालक एसोसिएशनको सदस्यहरूका सहयोगमा सुरक्षित रूपमा आ आफ्नो गन्तव्य पठाइएको बताइएको छ। यसै गरी बाटो खोलाउन स्थानीयवासी लागि परेको भए पनि व्यापक हिउँको कारण धेरै असुविधा भएको स्थानीयवासीहरुले बताएका छन्।











