गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको विजयी भव: जन सम्मेलन आज भव्यताको साथमा देन्ताममा सम्पन्न भयो। आजको कार्यक्रममा पार्टी अध्यक्ष प्रेमसिंह तामाङ मुख्य अतिथिकोरुपमा उपस्थित थिए भने विशिष्ट अतिथिकोरुपमा उनकी धर्मपत्नी कृष्ण राई, पार्टीका कार्यवाहक अध्यक्ष केएन लेप्चा, पार्टीका मुख्य संयोजक सोनाम लामा, सेक्रेटरी जेनरल अरुण उप्रेती, प्रवक्ता जेकव खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसै कार्यक्रममाझ आज १२१९ परिवारले आधिकारिकरूपमा पार्टी अध्यक्षको बाहुलीबाट पार्टीको झण्डा अनि पुस्तक ग्रहण गरेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल बने। आज पार्टीमा सामेल बन्ने प्रमुख व्यक्तिहरु पूर्व सचिव राजु बस्नेत, अवकाशप्राप्त सचिव छेवाङ ग्याछो भोटिया, भारती शर्मा, क्यापका प्रवक्ता सुस्मिता सापकोटा, पूर्व विधायकद्वय हेमेन्द्र अधिकारी र गोपाल बराइली सामेल रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रेमसिंह तामाङले आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सिद्धान्त अनि विचारलाई मन पराएर पार्टीमा सामेल हुन चाहनेहरुलाई पार्टीमा सामेल गराउन गर्नको निम्ति यो कार्यक्रमको आयोजना गरेको बताए। वर्ष २०१९ मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई सरकारमा ल्याउन दुःख गर्ने सबै कार्यकर्ताहरुलाई उनले धन्यवाद दिए। यसरी नै पाँच वर्षसम्म सरकारलाई सुचारूपमा चलाउन हर प्रकारको सहयोग दिने केन्द्र सरकार, राज्यपाल, पूर्व राज्यपाल, मुख्य सचिव, सचिवगण, सरकारी अधिकारी, कर्मचारी सबैलाई धन्यवाद दिए। वर्ष २०१९ मा जनताले आफूमाथि गरेको भरोसा अनुरूप आफूले सबै सिक्किमे जनताको निम्ति काम गरेको कारण आफू खुशी रहेको बताए। आज चुनावको अघि अचार संहिता लाग्नसाथै तमाम गरीब कार्यकर्ताहरूले एक एक पैसा दिएर उपहार स्वरुप दिएको गाडीमा आफू चडेर आएको सबैसँग साझा गर्दै उनी भावुक बने। उनले थप भने ‘यो पाँच वर्षमा पीएस गोलेले धेरै पैसा कमायो भन्ने नसोच्नु होला तर पाँच वर्ष भित्र केवल सिक्किमे जनताको विश्वास अनि भरोसा कमाएको छु। त्यो नै मेरो निम्ति सबै भन्दा बहुमूल्य सम्पत्ति हो। सारा सिक्किमे जनता सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको उम्मेदवारहरु हुन्। सबै जना होनहार छन् पार्टीप्रति वफादार छन्। तर सबै समीकरणलाई मिलाएर केवल 32 जनालाई मात्र हामी टिकट दिन सक्छौं। कुनै कारण कोही पनि होनहार व्यक्ति छुटे कसैले मन मुटाव राख्नु हुँदैन। पार्टीले कसैलाई टिकट पाए पनि मो सबैलाई प्रतिनिधित्व गर्छु भन्ने सोच्नुपर्छ। सबै जनता अनि कार्यकर्ताहरुको दुखेसोलाई निवारण गर्छु भनेर अघि आउनु पर्ने प्रतिबद्ध राख्नुपर्छ। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले खेल जितिसकेको छ अब ट्रफी मात्र थाप्नु बाँकी रहेको छ। तर खेल जितिसक्यो भन्दैमा अन्तिम समयमा रेफ्रीलाई नै कुट्न तम्सिए खेल नै डिसक्वालीफाई हुन्छं यसैले अन्तिम समयमा सबैले ध्यान दिनुपर्छ। यदि होसियार नभए सबैले दुःख पाउनेछन्।’ अब चुनावको अघि कोही पनि झुण्ड झुण्ड भएर नहिँडने पनि उनले सबैलाई निर्देशन दिए। अब जो पनि उम्मेदवार चिनिन्छन् सबै सिक्किमे जनताको निम्ति काम गर्नु भन्ने प्रतिबद्ध सहित अघि आउनुपर्ने आग्रह गरे। सिक्किमे जनता अनि पार्टी कार्यकर्ताहरुलाई कहिले धोका दिदिन भनेर लिखित रूपमा दिनुपर्ने पनि बताए। सरकार बनाएपछि सबै ठीक भइहाल्ने बताए। अब सिक्किमको सबै गाउँमा सिक्किमे जनताको काम भएको छ। यसैले अब सिक्किमको कुनै पनि गाउँमा विपक्षी छैन तर केवल गान्तोकमा बसेर हल्ला गर्नेहरु मात्र छ।

उनले थप भने ‘अहिले सबै सम्भव छ किनकि पूर्व सरकारले बजेट थुपारेर राखेको थियो तर हामीले जनताको निम्ति दहीको ढेका सरह खोलिदिएका छौं। यसैले सिक्किममा प्रत्येक तप्काका व्यक्तिहरूले सुविधाहरु प्राप्त गरिरहेका छन्।’
अब प्रत्येक कार्यकर्ता गोलेको सारथी भएर घर घरमा पुग्ने पनि उनले आग्रह गरे। एक युगलले ५०-५० घरमा पुगेर तिनीहरूलाई सरकारले गरेको कामहरूबारे बताएर बुथसम्म पुर्याउने पनि उनले निर्देशन दिए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले वर्ष २०१९ मा परिवर्तनको नारामा सरकारमा पुगेको थियो भने २०२४ अहिलेसम्म गरेको विकाशको नारा लिएर सरकारमा फेरि पुग्ने पनि प्रतिबद्ध जनाए।