कालचिनी: मुसलधारे बर्षाले राजाभात चियाबारीको कोठी लाईनका प्रायः १२ वटा घरहरुमा पानी पसेको औ कोठी लाईनका बाटो र नालाहरुमा जल जम्ने समस्या र यसको निकासीको व्यवस्था ग्राम पञ्चायत, कालचिनी ब्लक प्रशासन कसैले पनि नगरेपछि आज कोठी लाईनका बासिन्दाहरुले गारोपाड़ा ग्राम पञ्चायतमा आएर ताला जड़दै धरनामा बसेका थिए। निकै बेरसम्म धरना पश्चात गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामा र ग्राम पञ्चायतका सचिव औ सहायकहरुले समस्याको समाधान गर्ने आश्वासन दिएपछि मात्र धरना फिर्ता लिएको थियो।

आश्वासन दिएपछि नै आज गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामा लगायत ग्राम पञ्चायतका स्टाफहरु कोठी लाईनमा पुगेर स्थितिको निरीक्षण गरेको थियो भने ग्राम पञ्चायतको पक्षबाट तत्कालको निम्ति बासिन्दाहरुलाई प्लास्टिक सेड प्रदान गरेको थियो। प्रधान विन्दिया लामाले बर्षाकालमा राजाभात कोठी लाईनको यस्तै समस्या लिएर पहिला पनि ब्लक प्रशासन समक्ष सीएटी रिपोर्ट जमा गरिएको र आज पनि यसको सीएटी रिपोर्ट पठाएको बताउँदै ग्राम पञ्चायतको क्षमतामा काम हुन नसक्ने भएकोले कालचिनी बीडीओ समक्ष सीएटी रिपोर्ट जमा गरिएको जनाएकी छन। प्रधानले यस पार्टका पञ्चायत सदस्यले यससित सम्बन्धित कुनै एक्सन प्लान नहालेकोले नै आज कोठी लाईनका बासिन्दाहरुले समस्या भोग्न परेको र पञ्चायत सदस्यले पहिलाबाटै एक्सन प्लान हालेको भए शायद आजसम्म समस्या समाधान भईसकेको हुन्थ्यो भनि प्रधान बिन्दिया लामाले जनाएकी छन।










