एसकेएमलाई सरकारमा पुऱ्याउन पार्टीले सक्षम व्यक्तिलाई उम्मेदवारका रुपमा खडा गर्नेछः पीएस तामाङ

n5933052621710944654405ec498230eb85a584d573601b547738bf6d5eb5d41e2ef356950abe7364db3a81.jpg

देन्ताम: आगामी विधानसभा चुनाउका लागि उम्मेदवारहरू घोषणा गर्नअघि एक जनसभा आयोजन गरेर सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) अध्यक्ष पीएस तामाङले पार्टीद्वारा निर्धारित उम्मेदवारहरू जिताउन कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीले सरकार गठन गर्नका लागि सक्षम व्यक्तिलाई उम्मेदवारका रुपमा खडा गर्नेछ भन्दै कार्यकर्ताहरूको पहिलो भूमिका पार्टीलाई सरकारमा पुऱ्याउने हुनुपर्छ भनी उनले आह्वान गरेका छन्।

बुधवार पश्चिम सिक्किमको देन्ताम खेल मैदानमा आयोजित एसकेएम पार्टीको विजयी भवः जन सम्मेलनलाई सम्बोधन गर्दै एसकेएम अध्यक्ष तामाङले चुनाउ जित्न सक्ने व्यक्तिलाई नै पार्टीले आगामी चुनाउको उम्मेदवारका रुपमा खडा गर्ने बताए। यसका साथै पार्टी समर्थक र कार्यकर्तालाई उम्मेदवारका लागि गुटबाजी गर्ने प्रथाको अन्त्य गरेर सरकार बनाउन एकजुट बन्न पनि उनले अपील गरेका छन्।

उनले सम्बोधनकै क्रममा कतिपय निवर्तमान विधायहरूले टिकट पाउनसक्ने संकेत दिए भने टिकटको लागि दाबेदारी पेश गरिरहेका कार्यकर्तालाई २०२९ को चुनाउ एसकेएमका लागि खुला मैदान हुनेछ भन्ने भरोसा पनि दिलाए। पार्टीको संविधानले एक व्यक्तिलाई दुईपल्ट भन्दा बढी विधायक बन्ने अवसर प्रदान नगर्ने एसकेएम अध्यक्षको तर्क थियो।

उनले पार्टीभित्र गुटबाजी होइन, तर टीम एसकेएम बनेर आगामी विधानसभा चुनाउ लड्नुपर्नेछ भन्दै दाबेदारका रुपमा रहेका सबैलाई सरकार गठन भएपछि सम्मानित स्थान दिएर राख्ने बताए। २०१९ मा व्यवस्था परिवर्तनको नारा लिएर सरकारमा पुगेको एसकेएमले यस पल्टको चुनाउ पाँच वर्ष गरेका विकासको रुपोर्टलाई आधार बनाएर लड्नेछ भन्दै पार्टीका प्रत्येक कार्यकर्तालाई गोलेको सारथी बनेर चुनाउका लागि जनताको घर-घरमा पुग्न पनि उनले आग्रह गरे।

यता जनतालाई पनि पाँच वर्ष सरकारले गरेका कामको भरोसाका आधारमा भोट दिन अपील गर्दै एसकेएमले दोस्रो पल्ट सरकार गठन गरेको खण्डमा सिक्किममा विकासको लहर चल्ने उनले दाबी गरेका छन्। कार्यकर्तालाई आग्रह गर्दै उनले भने, पार्टीले चाहेर पनि धेरैलाई टिकट दिन नसक्ने स्थिति आउँछ। यसतो स्थितिमा कार्यकर्ताले नाउ डुबाउने निर्णय लिनु हुँदैन, किनभने सरकार आएन भने जनतालाई ठूलो धोखा हुनेछ।

उनले अझ भने, पार्टीले हरेक विषयलाई ध्यानमा राखेर टिकट दिनेछ। हामीले २०२४ होइन २०२९ तयार गर्ने लक्ष्यमा काम गर्नुपर्नेछ। अर्कोतिर यसपल्ट जसले पनि पार्टीको टिकट पाएर उम्मेदवार हुन्छ ती व्यक्तिले पार्टी र जनतालाई धोखा नदिने अकरनामा जनता समक्ष गर्नुपर्नेछ भन्ने उनले बताए।

जनसभाको सम्बोधनको शुरुआतमा एसकेएम अध्यक्षले २०१९ को विधानसभा चुनाउमा एसकेएम पार्टीलाई सरकारमा पुऱ्याउन सहयोगी बनेका जनतादेखि लिएर पाँच वर्षको कार्यकालमा सरकारलाई सहयोग पुऱ्याउने सबैप्रति आभार व्यक्त गरेका थिए। एकजना स्कूल चप्रासीको छोरालाई मुख्यमन्त्री बनाउन जनताले गरेको प्रतिवद्धताप्रति आभारी बन्दै एसकेएम अध्यक्ष निक्कै भावुक पनि बनेका देखिए।

जनताले गरेका विश्वासको आधारमा पाँच वर्षको सेवाबाट एसकेएम पार्टीले फेरि सरकार गठन गर्ने पूर्ण आधार तय गरेको बताउँदै यद्यपि अन्तिम क्षणमा आएर लापरवायी गर्नु नहुने उनले कार्यकर्तालाई जनसभा अवधि सजग गराए। उनले आगामी चुनाउका लागि एकापटि सिक्किमा विपक्षीको अस्तित्व नै नरहेको दाबी गरिरहेका थिए भने अर्कोतिर विपक्षीको हरेक गतिविधिबाट जनतालाई सजग गराउनुपर्ने कार्यकर्तालाई आग्रह पनि गरिरहेका थिए।

एसकेएम सरकारले गरेको अस्थायी नोकरीको स्थायीकरण र नयाँ नियुक्तिमाथि विपक्षी पार्टीले लगातार उठाइरहेका प्रश्नबारे जबाफ दिॅंदै उनले एसकेएम सरकार सबैलाई वेतन दिन सक्षम र प्रतिवद्ध रहेको बताए। उनले एसकेएम पार्टीले मजबूत सरकार गठन गर्ने दाबी गर्दै प्रत्येक क्षेत्र मात्र नभएर सबै बुथ पनि जित्ने आधारमा काम गर्न कार्यकर्तालाई आह्वान गरे।

उनले जुन निर्वाचन क्षेत्रले फराकिले मार्जिनमा एसकेएम उम्मेदवार जिताउँछ, त्यही क्षेत्रले मन्त्री पाउनेछ भन्ने वचन पनि दिए। देन्तामको जनसभापछि पार्टीले उम्मेदवारको घोषणा गर्ने र नामाङ्कनपछि पार्टी चुनाउ प्रचार अभियानमा लाग्ने उनले बताए। आजको जनसभा अवधि १२१९ जना मानिस एसकेएम पार्टीमा सामेल भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement