दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले भूमिपुत्र गोपाल लामाको नामाङ्कन पत्र दार्जीलिङमा २८ मार्चको दिन भर्ने जानकारी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाले एक भिडियो सन्देश जारी गरी बताएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले लोक सभा संसदीय चुनावको प्रार्थीको नाम अघिबाट नै घाेषणा गरिसकेका छन् र गाेपाल लामा हाम्रो प्रार्थी हुन् भनी बताएका छन्। महासचिव अमर लामाले गोपाल लामाको चुनावको नामाङ्कन दर्ता गर्ने तारिक आगामी २८ मार्च २०२४ तय गरेका छौँ भन्दै त्यस दिन बिहान महाकाल बाबाको दर्शन अनि आशीर्वाद लिएर ठूलो संख्यामा जिल्ला चुनाव अधिकारीको कार्यालयमा जानेछौँ भनी बताएका छन्। महासचिव अमर लामाले भने, ‘हाम्रो प्रार्थी गोपाल लामालाई दार्जीलिङ, खरसाङ, पहाड, समतल अनि डुवर्समा नचिन्ने व्यक्ति विरलै होलान्। गोपाल लामाले विगत २० वर्ष प्रशासनिक कार्यमा बिताउनु भयो। उहाँ दार्जीलिङका एडीएम हुनुहुन्थ्यो। उहाँले जीटीएमा पनि सचिवको कार्यभार सम्हाल्नु भयो। मङपु सिनकोनाको प्रबन्धक हुनुहुन्थ्यो। उहाँ परिचित व्यक्ति हुनुहुन्छ। उहाँ धेरै सँस्थाहरूसँग संलग्न व्यक्ति पनि हुनुहुन्छ।’
लामाले अघि भने, ‘उहाँ भूमिपुत्र मात्र हुनुहुन्न। उहाँले आफ्नो प्रशासनिक कार्यमार्फत यही कै मानिसहरूलाई आफ्नो सेवा प्रदान गर्नु भयो। दार्जीलिङ पहाड, समतललाई माया गर्ने गोपाल लामा यसपालीको हाम्रो प्रार्थी हुनुहुन्छ। हामी विश्वस्त छौं कि यसपाली सम्पूर्ण पहाडले हाम्रो भूमिपुत्र गोपाल लामालाई दुई फूलको चिन्हमा विपुल मत दिएर विजयी बनाउनु हुनेछ।’