कोलकाता: समाचार स्रोतहरूबाट प्राप्त जानकारीअनुसार, पश्चिम बंगालका राज्यपाल डा. सीभी आनन्द बोसले गार्डेन रिचमा भत्किएको भवनको स्थलको भ्रमण गरे र स्थानीय अस्पतालमा भर्ना भएका घाइतेहरूलाई पनि हिजो भेट गरे। सो क्रममा उनले चिकित्सक मार्फत घाईतेहरुसँग कुराकानी गरी चिकित्सकहरुसँग सबैको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने स्थानीय पुलिसले उनीहरुलाई घटनाको पूर्ण विवरण दिएको थियो। मिडियालाई सम्बोधन गर्दै राज्यपाल बोसले भने, ‘दुर्घटना आकस्मिक होइन। यसको पछाडि सधैं मानवीय असफलता हुन्छ। आफ्नो कुनै गल्ती बिना मान्छे मरेको देख्नु धेरै पीडादायी छl यसमा निर्माणकर्ताको कमजोरी छ। पर्यवेक्षकहरूको पक्षमा थप असफलता छ। अनाधिकृत निर्माण रातारात हुँदैन। यसबारे अधिकारीहरू सचेत थिए, सबै अनाधिकृत निर्माणहरू पहिचान गरी तत्काल आवश्यक कदम चाल्न सरकारसँग कार्यदल गठन गर्ने विकल्प छ। म निश्चित रूपमा आईआईटी खडगपुर, केन्द्रीय भवन अनुसन्धान संस्थान, स्ट्रक्चरल इन्जिनियरिङ अनुसन्धान केन्द्र र अन्यका विज्ञहरूको बैठक बोलाउनेछुl’ कोलकातामा आइतबार (मार्च १७) राति गार्डेन रीचको हजारी मोल्ला बागान बस्ती नजिकै रहेको पाँच तले निर्माणाधीन भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय रिपोर्टहरूका अनुसार यो घटना भएको हो। यो दु:खद घटना मध्यरात करिब १२ बजे भएको हो।