मुम्बई: आउँदो २२ मार्चदेखि शुरु हुने इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४ अघि मुम्बई इण्डियन्सका मुख्य प्रशिक्षक मार्क बाउचरले सोमवार बताएअनुसार, उनलाई टीमका स्टार ब्याटर सूर्यकुमार यादवको फिटनेसको स्थितिलाई लिएर भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-बाट अपडेटको प्रतीक्षा रहेको छ। टी२० प्रारूपमा नम्बर एक ब्याटर सूर्यकुमार अहिले हर्नियाको अपरेशनपछि पुनर्वासको प्रक्रियामा रहेका छन् अनि उनी आईपीएलमा शुरुवाती केही म्याचहरू नखेल्ने तय छ। बाउचरले सोमवार भने, हामीलाई सूर्यकुमारको फिटनेसलाई लिएर बीसीसीआईबाट अपडेटको प्रतीक्षा रहेको छ। हामीले पहिला पनि फिटनेस सम्बन्धी समस्याहरूसँग जुझ्नु परेको थियो तर हामीसँग विश्वस्तरीय मेडिकल टीम रहेको छ। फिटनेस समस्याहरूले गर्दा हामीले एक-दुईजना खेलाड़ीलाई गुमाउनु पर्ने सम्भावना छ तर हामी अघि बढ्नु पर्नेछ कारण यो खेलको हिस्सा हो। बाउचरले यसको साथमा यस साल हुने टी२० वर्ल्ड कपलाई ध्यानमा राखेर खेलाड़ीहरूलाई विश्राम दिने कुनै योजना नरहेको पनि स्पष्ट गरे। उनले भने, हामी प्रत्येक म्याचमा सर्वश्रेष्ठ टीम खेलाउन चाहन्छौं।










