गान्तोक: चुनाउ आचार संहिता लागू हुनसाथै राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो चुनावी अभियान तीव्र गरेको छ। यसै क्रममा आगामी २० मार्च २०२४-को दिन सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले पश्चिम सिक्किमस्थित देन्ताम खेल मैदानमा भव्यताको साथमा राज्यस्तरीय विजयी भवः जन सम्मेलन (सार्वजनिक जनसभा)- आयोजन गर्ने निधो गरेको छ। सम्मेलनमा पार्टी अध्यक्ष एवं निवर्तमान मुख्यमन्त्री पीएस तामाङ गोले विशेष अतिथिको रूपमा उपस्थित रहने भएको छ। यो जन सम्मेलन (जनसभा) सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको निम्ति विशेष कार्यक्रमको रूपमा रहने पार्टीका मुख्य समन्वयक, प्रचार प्रसार शाखा विकास बस्नेतले जानकारी गराएका छन्। आदर्श चुनाउ आचार संहिता लागू भएपछि पार्टीले आयोजन गर्न लागेको यो पहिलो जन सम्मेलन भएकोले पनि यो केही विशेष रहने देखिएको छ।
जन सम्मेलनबाट पार्टी अध्यक्ष पीएस तामाङ गोलेले आउँदो चुनाउ सम्बन्धमा रहेका पार्टीका मुद्दाहरू र भावी कार्यक्रमहरूबारे जानकारी दिने मुख्य समन्वयक विकास बस्नेतले जानकारी गराएका छन्।
यस दिन अन्य विपक्षी पार्टीका केही व्यक्तित्व अनि केही सामाजिक हस्तीहरूले एसकेएम पार्टीमा प्रवेश लिने कार्यक्रम पनि रहेको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन्। राज्यस्तरीय विजयी भवः जन सम्मेलनमा पार्टीका क्रान्तिकारी सहयोद्धा लगायत सम्पूर्ण जनता जनार्दनलाई उपस्थित भइ एसकेएम पार्टीको भावी कार्यक्रम र योजनाहरूबारे जानकारी लिन पार्टीले आह्वान गरेको मुख्य समन्वयक विकास बस्नेतले जानकारी गराएका छन्।
जानकारी गराइन्छ, हिजो १६ मार्चको दिन भारतीय चुनाउ आयोगले देशको लोकसभा चुनाउसँगै सिक्किम राज्यको विधानसभा चुनाउको मिति घोषणा गरिसकेको छ, जसअन्तर्गत सिक्किम राज्यमा आगामी १९ अप्रेलको दिन मतदान हुनेछ। यसबारे आगामी २० मार्चको दिन राजपत्र अधिसूचना जारी हुनेछ भने २७ मार्चसम्म उम्मेदवारहरूको नामाङ्कन हुनेछ अनि २८ मार्चको दिन उम्मेदवारहरूको नामाङकन पत्रको जाँच हुनेछ। उम्मेदवारहरूले नामाङ्कन फिर्ता गर्ने अन्तिम मिति ३० मार्च रहेको छ।