खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टको उपाधि एम्ब्रोसिया सोनादाले जितेको छ। नव ज्योति संघ चुनभट्टीको आयोजनामा गत २७ फरवरीदेखि आयोजित जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टको आज भएको फाइनल खेलमा सोनादाले मिरिकलाई ७० रनले पराजित गर्दै जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टको च्याम्पियन बनेको छ। आज भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै एम्ब्रोसिया सोनादाले १९ ओभरमा सबै १० विकेट गुमाएर १७० रन बनाएका थिए। सोनादाको पक्षबाट लगातार दुईवटा खेलमा सर्वाधिक रन बनाएर म्यान अफ् द म्याच रहने जनम गुरुङ आज शून्य रनमा नै आउट भएका थिए। तर पनि सोनादाको पक्षबाट देब्रे हातका ओपनर ब्याटर सचिन तामाङले सर्वाधिक ३२ बलमा 65 रन अनि पेम्बा शेर्पालो १३ बलमा २२ रन बनाएका थिए। मिरिकको पक्षमा राज तामाङ, राम थामी, शाहेश्वर सुब्बा, रोहण गुरुङले २-२ विकेट लिएका थिए। १७१ रनको लक्ष्यलाई खेदो गर्दै मिरिकले १४ ओभर २ बल मात्र खेलेर सबै १० विकेट गुमाएर केवल १०० रन मात्र बनाएका थिए। सोनादाको पक्षबाट रनवीर शाहले ५ विकेट र अरमान अलिले ३ विकेट लिएका थिए। आजको फाइनल खेलमा च्याम्पियन बन्ने एम्ब्रोसिया सोनादालाई धिरेन्द्र थापाले आफ्नी आमा पवित्र थापाको स्मृतिमा प्रायोजित आकर्षक ट्रफिसहित नगदराशि पचास हजार प्रदान गरिएको थियो। त्यसरी नै उप विजेता दललाई पनि पवित्र थापा स्मृति ट्रफिसहित नगदराशि तीस हजार प्रदान गरिएको छ। आजको फाइनल खेलमा ५ विकेट लिने सोनादाको बलर रनवीर शाह म्यान अफ् द म्याच चयन भएका छन् भने टुर्नामेन्टभरि ११४ रन र ४ विकेट लिने सोनादाको जनम गुरुङलाई म्यान अफ् द सिरिज प्रदान गरिएको छ त्यसरी नै बेस्ट क्याच ढाका ईलेभेनका भबेन तामाङलाई चयन गरियो भने फेयर प्ले अवार्ड युवराज ईलेभेनलाई प्रदान गरिएको छ। यस फाईनल खेल अघि नव ज्योति संघ चुनभट्टी ए र सिविटारमाझ प्रदर्शन खेल सम्पन्न भएको छ। यस खेलमा चुनभट्टीले 8 ओभरमा दिएको ७० रनको लक्ष्यलाई ७ ओभर ५ बलमा हाँसिल गर्दै सिविटारले खेल जितेको छ। आजको खेलमा मुख्य अतिथिको रूपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष साजन दर्जी, पञ्चायत सदस्य दिपेन्द्र तामाङ, पुष्पकुमारी प्रधान, भागोप्रमो चुनभट्टी दुई नम्बर शाखाको सभापति ज्योति भट्टराई, वरिष्ठ नागरिक काजी प्रधान, बलराम छेत्री आदि उपस्थित रहेका थिए।

आजको फाईनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रञ्जित थापाले विस्तृत रूपमा जानकारी गराएका छन्। उनले यस क्रिकेट टुर्नामेन्ट आयोजनामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उल्लेख्य छ गत २७ फरवरीदेखि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा २० वटा टिमहरूलाई लिएर जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको थियो। यस टुर्नामेन्टमा सुकना, दार्जीलिङ, मिरिक, सोनादा, खरसाङ, सिमलबारी लगायत स्थानीय टिमहरूले पनि भाग लिएका थिए।