गान्तोक: लिम्बू तामाङ भोलन्टेरी कमिटी (एलटीभीसी) ले सत्तारूढ़ एसकेएम पार्टी लिम्बू-तामाङको सीट आरक्षणलाई लिएर इमान्दार नरहेको आरोप लगाएको छ। एलटीभीसीले २०१९ को चुनाउमा एसकेएम पार्टीलाई समर्थन जनाएको तर आउॅंदो चुनाउमा एसकेएमलाई समर्थन नगर्ने आफ्नो अडान पनि स्पष्ट गरेको छ।
एलटीभीसीका पदाधिकारीहरूले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा यस आसयको जानकारी दिएका हुन्। एलटीभीसीका पदाधिकारीहरू अनुसार, एसकेएम पार्टी सरकारमा आएको खण्डमा लिम्बू-तामाङको सीट आरक्षण सम्भव हुनेछ भन्ने आशाका साथ एलटीभीसीले २०१९ को चुनाउमा एसकेएमलाई समर्थन जनाएको थियो। तर, एसकेएमका गतिविधिहरूले उनीहरू लिम्बू तामाङको सीटप्रति इमान्दार नरहेको स्पष्ट भएको छ।
एसकेएम पार्टी सरकारमा आएपछि लिम्बू तामाङको सीट आरक्षणको निम्ति दुईवटा कमिटी गठन गरेको, तर उक्त कमिटीहरूले यस दिशामा अहिलेसम्म के-कति काम गऱ्यो भनेर जानकारी साझा गर्न नचाहेको एलटीभीसीको आरोप छ। उक्त कमिटीको दस्तावेजहरूका साथै जनजातिको मान्यता पाउनबाट छुटेका १३ समुदायको सन्दर्भमा केन्द्र अनि राज्य सरकारमा बुझाइएका दस्तावेजहरू सार्वजनिक गर्नु पर्ने माग एलटीभीसीले गरेको छ।
एलटीभीसीका पदाधिकारीहरूले सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाको संसद सत्रहरूमा न्यून उपस्थितिलाई लिएर पनि प्रश्न उठाएका छन्। सांसद सुब्बा संसदको साटो राज्यका स्थानीय कार्यक्रमहरूमै व्यस्त रहने गरेको उनीहरूको आरोप छ।










