वर्ष २०२२ का लागि पूर्वसांसद दिलकुमारी भण्डारी र २०२३-का लागि अनुवादक सुनिता दाहाललाई मदन स्मारक सम्मान प्रदान

IMG-20240317-WA0116

वाराणसी (उत्तर प्रदेश): श्री विद्या धर्म प्रचारिणी नेपाली समिति, वाराणसीले वर्ष २०२२ को मदन-स्मारक सम्मान सिक्किमकी पूर्वसांसद श्रीमती दिलकुमारी भण्डारीलाई अनि वर्ष २०२३ को लागि अनुवाद‌क तथा भाषा प्राविधिक श्रीमती सुनिता दाहाललाई प्रदान गर्यो। प्रोफेसर हरिप्रसाद आधकारीको अध्यक्षतामा सम्पन्न समारोह‌मा मदन पुरस्कार गुठीसँग संलग्न दीक्षित परिवारकी प्रतिनिधि श्रीमती रूपा दीक्षित जोशी मुख्य अतिथि रहेकी थिइन् भने समितिका पूर्व अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए। श्री विद्या धर्म प्रचारिणी नेपाली समितिले वर्ष १९८४ देखि यो सम्मान प्रदान गर्दै आएको छ।

नेपाली भाषालाई संवैधानिक मान्यता प्रदान गर्न पुर्‍याएको अनि नेपाली भाषा प्रवर्द्धन गर्न आजसम्म अनवरत लागिरहेकी पूर्व सांसद् दिलकुमारी भण्डारीलाई अनि नेपाली भाषामा प्रसिद्ध तमिल ग्रन्थ तिरुक्कललाई अनुवाद गर्ने साथै नेपाली भाषालाई कम्प्युटेसनल प्रविधिमा लैजाने प्रक्रममा उद्यत सुनिता दाहालको कार्य र कृतिलाई समितिले सम्मान गर्ने निर्णय गरेको थियो। आफ्नो वार्ता प्रस्तुत गर्ने क्रममा दिलकुमारी भण्डारीले आफ्नो सांसद्‌कालको उपलब्धि, प्राप्ति र संस्मरण साझा गर्दै नेपाली भाषा संवर्द्धन, प्रवर्द्धन र संरक्षणमा युवा पिँढीको ठुलो उत्तरदायित्व आइलागेको बताइन्। यस क्रममा उनले भारतीय लोकतन्त्र, संसद र सांसदहरूको सुन्दर पक्षहरूको संस्मरण साझा गरिन्। सुनिता दाहालले आफ्नो वार्तामा अनुवाद‌को महत्त्व तिरुक्कुरलको परिचय, महत्त्व र नेपालीमा यसको आवश्यकता अनि अनुवादका अनुभव साझा गरिन्। नेपाली भाषालाई प्रविधिका माध्यमबाट संरक्षण-संवर्द्धन गर्न सकिने प्रचुर सम्भावनाहरू रहेका र यसका लागि दक्ष मानव संसाधन तयार पार्नुपर्ने समय आएको बताइन्। 

मुख्य अतिथिको सम्बोधन राख्ने क्रममा रूपा दीक्षित जोशीले श्री विद्या धर्म प्रचारिणी नेपाली समितिलाई बचाई आजसम्म यतिको सक्षम बनाउन काशीबहादुर श्रेष्ठ र उन‌का परिवारको मुग्ध कण्ठले प्रशंसा गर्दै सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारीलाई मदन स्मारक सम्मान प्रदान गर्नाले समिति र सम्मान नै प्रतिष्ठित भएको बताइन्। पुरानो पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्न समिति सक्षम बनेको उद्‌गार व्यक्त गरिन्। अध्यक्षीय भाषणमा सभा तथा समितिका अध्यक्ष प्रोफेसर हरिप्रसाद अधिकारीले कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने र सम्मान ग्रहण गर्न सशरीर उपस्थित हुने प्रापकद्वय र विभिन्न संघ-संस्था र शैक्षिक संस्थाका प्रतिनिधिप्रति आभार ज्ञापन गर्दै समितिले यस्ता कार्यहरूलाई निरन्तर रूपमा संचालन गरिरहने बताए। कार्यक्रमलाई समितिका उपाध्यक्ष तथा काशी हिन्दू विश्वविद्यालयका प्रोफेसर दिवाकर प्रधानले स्वागत गरे। पुरस्कार प्रापक श्रीमती दिलकुमारी भण्डारीको परिचय डा. टेकबहादुर छेत्री र श्रीमती सुनिता दाहालको परिचय डा जगदीशन टीले प्रस्तुत गरे। समारोहलाई समितिका मन्त्री विजय श्रेष्ठले संचालन गरेका थिए। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *