मोरङ, तेह्रथुम र भोजपुरमा आगलागी, ३२ घर जले

aagladi_

विराटनगर (नेपाल): मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन्। मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका छन्। सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको पुलिसले जनाएको छ। आगो निभाउन रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरुको दमकल प्रयोग गरिएको छ।

पुलिस र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम भइरहेकाले क्षतिको विवरण आइसकेको छैन। आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन। बाँस, सन्ठी जस्ता स्थानीय सामग्री प्रयोग गरी बनाइएका घरहरुमा आगो चाँडै फैलिएको जनाइएको छ। यसैबीच, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आजै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ। पुलिसका अनुसार जंगलबाट शुरु भएको आगो हावा चलेपछि बस्तीसम्म आइपुगेको थियो। आगोले स्थानीय बासिन्दाका ६ वटा घर जलेका छन्। यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्ति बजार नजिकै गाउँमा भएको आगलागीमा चारवटा घर जलेका छन्। पुलिसका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन्।  आगोले स्थानीयको घरसहित कपडा, अन्न, केही चौपाया सहित धनमाल जलेको छ। नजिकै रहेको जंगलमा लागेको डढेलो बस्तीमा आइपुगेको पुलिसले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *