राजगञ्ज: राजगञ्ज विधायक खगेश्वर रायले आज तृणमूल कङ्ग्रेसको ‘तपशिली संवाद यात्रा‘–को ट्याबलोको विधिवत् उद्घाटन गरे। राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायत अन्तर्गत राजगञ्ज कलेज मोडमा उक्त ट्याबलोको उद्घाटन गरियो। प्राप्त जानकारी अनुसार गत १२ मार्चको दिन तृणमूल कङ्ग्रेसको अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीले कोलकाताको नजरूल मञ्चमा उक्त ‘तपशिली संवाद‘ कार्यक्रमको शुरुआत गरेका थिए। उक्त कार्यक्रमको माध्यमद्वारा तृणमूल कङ्ग्रेसका नेताहरू पश्चिम बंगालको विभिन्न ठाउँमा बस्दै आइरहेका अनुसूचित जाति तथा जनजातिका मानिसहरूकहाँ पुगेर विभिन्न सन्देश दिनेछन्। ‘तपशिली संवाद‘ यात्राको ट्याबलो प्रत्येक जिल्ला, ब्लकको विभिन्न बुथ-बुथसम्म जानेछ। ‘तपशिली संवाद यात्रा’-को अंशको रूपमा आज राजगञ्जमा पनि ट्याबलोको उद्घाटन गरियो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेस अध्यक्ष अरिन्दम ब्यानर्जी, लक्ष्मण राय, रुपाली दे सरकार आदि उपस्थित थिए।