म्याड्रिड: यूएफा च्याम्पियन्स लीगको क्वार्टर फाइनल राउण्डको ड्र शुक्रवार राति निकालियो, जसमा गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीको स्पेनिश क्लब रियल म्याड्रिडसँग भिड़न्त तय भयो। यी दुई टीमले गत दुई सीजनमा केही आकर्षक प्रदर्शन गरेको हुनाले यी दुई टीमबीचको भिड़न्त अन्य म्याचहरूको तुलनामा अधिक रोचक बन्ने लागिरहेको छ। यी दुई टीमबीच लगातार तेस्रोपल्ट नक्आउट चरणमा जम्काभेट हुनेछ। गत सीजनमा म्यानचेष्टर सिटीले सेमिफाइनलमा रियल म्याड्रिडलाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो। त्यसपछि टीमले फाइनलमा इण्टर मिलानलाई १-०-ले पराजित गरी पहिलोपल्ट ट्रफी जितेको थियो। त्यसअघि २०२२-मा पनि म्यानचेष्टर सिटी फाइनलमा पुग्ने तय मानिएको थियो तर रियलले अन्तिम समयमा उलटफेर गर्दै जीत हासिल गरी फाइनलमा स्थान बनाएको थियो। त्यस सीजनमा रियलले लिभरपूललाई पराजित गरी ट्रफी जितेको थियो।
अन्य क्वार्टर फाइनल म्याचहरूमा आर्सनलको भिड़न्त जर्मनीको शीर्ष टीम बायर्न म्यूनिखसँग हुनेछ। यी दुई टीमबीच प्रतियोगितामा अन्तिमपल्ट २०१७-मा राउण्ड अव् सिक्स्टीन (१६)-मा भिड़न्त भएको थियो, जसमा बायर्नले दुई चरण मिलाएर १०-२-ले सजिलै जीत हासिल गरेको थियो। मिकेल अर्टेटाको टीम अहिले असाधारण फर्ममा रहेको हुनाले बायर्न म्यूनिखको निम्ति यसपाली काम सजिलो हुनेछैन। टोटनह्यामका पूर्व फरवर्ड ह्यारी केनको आगमनपछि बायर्नको आक्रमण पंक्ति धेरै दह्रिलो देखिएको छ। यसबाहेक स्पेनिश क्लब एफसी बार्सिलोना र फ्रान्सीसी क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-बीचको भिड़न्त पनि मुख्य आकर्षण हुनेछ। यसमा बार्सिलोनाका रोबर्ट लेवाण्डोस्की र पीएसजी-का कीलियन एम्बाप्पेबीच रोचक प्रतिस्पर्धा हुनेछ। यी दुई टीमबीच २०१६-१७-को सीजनमा पनि रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। त्यस समय पहिलो लेगको म्याच ४-०-ले गुमाएपछि बार्सिलोनाले लियोनल मेस्सीको नेतृत्वमा असाधारण पुनरागमन गर्दै दोस्रो लेगमा पीएसजी-लाई ६-१-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाएको थियो। यसरी चौथो क्वार्टर फाइनलमा स्पेनिश क्लब एट्लेटिको म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमण्डको चुनौती स्वीकार्नेछ। यी दुवै टीमको प्रदर्शनमा निरन्तरताको कमी देखिए पनि एट्लेटिको म्याड्रिडको पल्ला सामान्य भारी रहने तय छ।