धाँधलीबाट शिक्षकको नियुक्ति पाएको आरोपमा शिक्षा राज्य मन्त्रीका छोरी बर्खास्त

 कोलकाता: कोलकाता उच्च अदालतले पश्चिम बङ्गालका शिक्षा राज्य मन्त्री परेश चन्द्र अधिकारीकी छोरी अंकिता अधिकारीलाई शिक्षकको नौकरीबाट बर्खास्त गर्ने आदेश दिएको छ। उनीमाथि धाँधली गरी नियुक्ति पाएको आरोप छ। अदालतले उनको अहिलेसम्मको वेतन राशि पनि असूली गर्ने आदेश दिएको छ। शुक्रबार उच्च अदालतको एकल पीठका न्यायमूर्ति अभिजीत गांगुलीले आफ्नो आदेशमा भने, ‘बङ्गालका शिक्षा राज्य मन्त्री परेश चन्द्र अधिकारीकी छोरी अंकिता अधिकारीले कुनैपनि मूल्यमा स्कूलमा प्रवेश गर्न नसकुन्l’ अदालतले अंकितालाई नौकरीबाट बर्खास्त गर्ने आदेश दिँदै भन्यो, ‘अंकिताले २०१८ मा शिक्षकको रूपमा नियुक्ति भएदेखि आजसम्म प्राप्त वेतन राशि पनि फर्काउनपर्नेछl’ न्यायमूर्ति गांगुलीले स्पष्ट गरे, उनले दुई किस्तीमा वेतन फर्काउनपर्नेछ। वेतनको पहिलो किस्ती ७ जूनसम्म उच्च अदालतको रजिस्ट्रार कार्यालयमा जमा गराउनपर्नेछ। अंकिताले अहिलेसम्म ४१ महिनाको वेतन लिइसकेकी छन्।

उल्लेख्य, अंकिता अधिकारीले शिक्षक पात्रता परीक्षा नै दिएकी थिइनन् अनि सोझै उनलाई शिक्षकको रूपमा नियुक्त गरिएको थियो। आरोपअनुसार कविता बर्मन वेटिङ लिस्टमा पहिलो स्थानमा थिइन् तर एसएससीले वेटिङ लिस्ट बदली गऱ्यो अनि दोस्रो लिस्टमा अंकितालाई कविताभन्दा अघि राखेर शिक्षकको रूपमा नौकरी दिइयो। कविताले यस विरूद्ध वर्ष २०१८ मै उच्च अदालतमा याचिका लगाएकी थिइन्। यसमा गत बुधबार अदालतले सीबीआई जाँचको आदेश दिएको छ। यस मामिलामा अंकिताका पिता र राज्यका शिक्षा राज्य मन्त्री अधिकारीसित सीबीआईले गत दुई दिनदेखि लगातार सोधपुछ गरिरहेछ। अंकितासित पनि केरकार गर्ने आदेश दिइएको छ तर उनी केरकारको निम्ति अहिले उपस्थित भएकी छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement