गान्तोक: राज्यका सामाजिक न्याय एवम् कल्याण विभाग मन्त्री सञ्जीत खरेलले हिजो प्रधानमन्त्री सामाजिक उत्थान अनि रोजगार आधारित जनकल्याण (पीएम सुरज) योजना अन्तर्गत चेक अनि किट्स वितरण गरे।
गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा भारत सरकारको सामाजिक न्याय सशक्तिकरण मन्त्रालयका नोडल अधिकारी निरञ्जन चौधरी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
आफ्नो सम्बोधनमा मन्त्री खरेलले पीएम-सुरज कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै यो योजना सीमान्तकृत वर्गको उत्थानका लागि दूरदर्शी पहल भएको बताए। उनले यो योजना आर्थिक विकासमा मात्र केन्द्रित नभई समाजका पछाडिएका वर्गको समग्र विकासमा केन्द्रित भएर राष्ट्रको सर्वाङ्गीण विकासमा योगदान पुऱ्याउने लक्ष्य राखेको जानकारी दिए। उनले राज्यका अधिकतम लाभग्राहीसम्म पुगेर आफ्नो सपना पूरा गर्न सक्षम बनाउन विभिन्न लाइन विभागका अधिकारीहरूलगायत सरोकारवालाहरूलाई आग्रह गरे।









