यूएफा च्याम्पियन्स लीगःएट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमण्ड क्वार्टर फाइनलमा

photocollage_20243141354356.jpg

म्याड्रिड: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा स्पेनिश क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्डले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। एट्लेटिको म्याड्रिडले असाधारण पुनरागमन गर्दै इटलीको क्लब इण्टर मिलानलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। बुधवार राति आफ्नो होम ग्राउण्डमा खेल्दै स्पेनिश क्लबले नियमित समयको खेलमा इण्टर मिलानलाई २-१-ले पराजित गऱ्यो। यसअघि इण्टरको होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याचमा एट्लेटिको ०-१-ले हारेको हुनाले समग्रमा स्कोर २-२-को बराबरीमा रह्यो। त्यसपछि परिणाम हासिल गर्नको निम्ति पेनल्टी शूटआउट गराइयो, जसमा एट्लेटिको म्याड्रिड ३-२-ले विजयी भयो। आफ्नो होम ग्राउण्डमा खेलिएको दोस्रो लेगको म्याचमा पनि एट्लेटिकोले शुरुमै गोल खायो। म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने इण्टर मिलानलाई फेडेरिको डिमार्कोले ३३औं मिनटमा बढ़त दिलाए। त्यसपछि होम टीमले पनि बराबरी हासिल गर्न अधिक समय लगाएन अनि एण्टोनी ग्रीजम्यानले ३५औं मिनटमा स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि डच फरवर्ड मेम्फिस डिपायले ८७औं मिनटमा गोल गरी एट्लेटिकोलाई २-१-ले जीत दिलाए।
एट्लेटिकोको विपरीत बोरुसिया डर्टमण्डलाई चाहिँ क्वार्टर फाइनलमा पुग्न अधिक समस्या भएन। जर्मन क्लबले बुधवार राति खेलिएको दोस्रो लेगको म्याचमा पीएसभी आइण्डहोभेनलाई २-०-ले पराजित गऱ्यो। यसअघि नीदरल्याण्डको क्लबको होम ग्राउण्डमा भएको पहिलो लेगको म्याच १-१-ले ड्र रहेको हुनाले बोरुसिया डर्टमण्ड समग्रमा ३-१-ले विजयी भएर क्वार्टर फाइनलमा पुग्यो। बुधवार राति आफ्नो होम ग्राउण्डमा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने डर्टमण्डबाट जेडोन साञ्चोले तेस्रो अनि मार्को रिउसले म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको पाँचौं मिनट)-मा गोल गरे। म्याचमा डच क्लबले पनि गोल गर्ने मौकाहरू बनाएको थियो तर खराब फीनिशिंगले गर्दा टीम पराजित भएर प्रतियोगिताबाट बाहिर भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement