कवि मुङ्गा राईको कविता संग्रह ‘अन्तराल’ लोकार्पित

n591310640171034312455359d5c9c1d39628773d114ba1c58d359ac7fd2fce5bc5627a73daebd8e8c84c3e.jpg

रचनात्मक कार्यहरूमा मेरो सधैँ सहयोग र सहभागिता रहनेछः विधायक ढुंगेल

गान्तोक: तादोङको एउटा होटलमा आज आयोजित एउटा कार्यक्रममा कवि मुङ्गा राईको ‘अन्तराल’ नामक कविता संग्रहको विधिवत सार्वजनिकीकरण तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुंगेलको बाहुलीबाट सम्पन्न भयो।

उक्त कविता संग्रह ‘अन्तराल’ मा कवि मुङ्गा राईका छोटा-लामा ५९ वटा कविताहरू समावेश छन्।

‘अन्तराल’ मा समाविष्ट सबै कविताद्वारा समाजका घटनाहरूलाई, परिदृश्यहरूलाई प्रतिनिधित्व गराउने प्रयत्न गरिएको कवि मुङ्गा राईले आफ्नो छोटो सम्बोधनमा बताइन्। उनले आफ्ना कविताहरू पढेर राम्रा-नराम्रा दुवै थरीका मन्तव्य दिने आग्रह जनाउँदै अनि मात्र भूलहरूलाई सच्याउन आधार पाइने मन्तव्य राखिन्। कविता समाजको ऐना हुने पनि कवि मुङ्गाले बताउँदै आफ्नो यो प्रथम कृति प्रकाशनमा सहयोग अनि प्रेरित गर्नेहरूप्रति आभार प्रकट गरिन्।

मुख्य अतिथिको आसनबाट आफ्नो सम्बोधन राख्दै विधायक जीटी ढुंगेलले हाल तादोङ क्षेत्रमा रचनात्मक कार्यहरूको प्रवाह बढेको बताए। यसो हुनु खूबै शुभ संकेत हो र यस्ता कार्यहरूले नै समाजको सही प्रगतिको तर्जुमा हुने विधायकले बताए। रचनात्मक कार्यहरूमा आफ्नो सधैँ सहयोग र सहभागिता रहने पनि विधायक ढुंगेलले आश्वस्त पारे। साहित्यले समाजको प्रतिविम्बलाई रेखाङ्कित गर्ने बताउँदै आफू साहित्य सृजनामा नलागे तापनि साहित्यको उपासक रहेको बताए।

हाल तक्निकी अनि प्रौद्योगिकीले फडको मारेको अनि साहित्य पनि च्याट जीपीटीले लेख्न थालेको बताउँदै तर जीवनमा हासिल भएका अनुभवहरू सबैभन्दा ठूलो उपलब्धि हो र जीवनमा हासिल भएको अनुभवलाई भने च्याट जीपीटीले समात्न नसक्ने बताए। यसैले जीवनमा जुन अनुभव बटुलिन्छ त्यो स्वर्णिम हुँदछ अनि समाजलाई त्यसबाट ठूलो टेवा पुग्दछ, विधायक ढुंगेलले विचार प्रकट गरे।

विधायक ढुंगेलले सबैको सुखी, समृद्ध जीवन र विकसित समाज, राज्य र देशको निम्ति हामीले समर्पित भएर कार्य गर्नुपर्ने बताउँदै जीवन एउटा खोलो झैँ हो र खोला थुप्रै मैला, फोहोर बगाउँदै निरन्तर बगिहन्छ अनि निर्मलताको सन्देश दिइरहन्छ उसरी नै हामीले पनि जीवनलाई निर्मल धारामा बगाइरहनुपर्ने विचार व्यक्त गरे। विधायक ढुंगेलले अन्तमा कवि मुङ्गा राईलाई बधाई अनि शुभकामना दिँदै उन्नत भविष्यको कामना गरे।

साहित्यकार डा. टीबी छेत्रीले आफ्नो सम्बोधनमा साहित्य समाजको दस्तावेज हुँदछ भन्दै प्रकाशित कविता संग्रह ‘अन्तराल’ ले यो कथनलाई न्याय गरेको बताए। उनले कवि मुङ्गा राईका कविताहरू सरल छन् भन्दै यी कविताहरू पढ़दा कसैलाई पनि कविता लेख्न सक्ने रहेछु भन्ने प्रेरित गर्ने बताए। साहित्य लेखन सरल हुनपर्ने कुरामा उनले विशेष अडान लिए। पुस्तक सार्वजनिकीकरण कार्यक्रममा स्वागत वक्तव्य डा. उदय छेत्रीले राखेका थिए भने सम्पूर्ण कार्यक्रमको सञ्चालन कवि तथा चित्रकार दीपा राईले गरेकी थिइन्।

डुपछिरिङ लेप्चाद्वारा अध्यक्षता गरिएको उक्त कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा अन्तराल कविता संग्रहबाट कविता पाठहरू पनि गरिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *