कैलाश प्रधान, रुपेन कार्की र प्रवीण शर्मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाउ लड्ने

n5910157141710263574349f9d37b98c9ba8829e887d03e6e7dfe3cc87a42003ac2b0c44b5cd173ed976035.jpg

गान्तोक: ‘मञ्च सिक्किम’ ले आउॅंदो विधानसभा चुनाउको निम्ति आफ्ना तीन स्वतन्त्र उम्मेदवारको नाम घोषणा गरेको छ। अप्पर तादोङ समष्टिबाट वास्तुकार कैलाश प्रधान, मल्ली समष्टिबाट रुपेन कार्की र याङथाङ समष्टिबाट प्रवीण शर्माले चुनाउ लड्ने छन्।

मञ्चका प्रतिनिधिहरूले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिए।

दक्षिण सिक्किमको मल्ली समष्टिबाट चुनाउ लड्ने घोषणा गर्दै रुपेन कार्कीले सिक्किम प्रोग्रेसिभ युथ फोरमको मञ्चबाट आफुले पीड़ित श्रमिकहरूका हक-अधिकार साथै शिक्षा, स्वास्थ्य आदि विषयहरूमाथि आवाज उठाउॅंदै आइरहेको बताए। तर, राज्य सरकारले जनताको पक्षमा भने जस्तो काम नगरेको र निर्वाचित जनप्रतिनिधिहरूले पनि जन विरोधी काम गरिरहेको उनले आरोप लगाए।

उनले मञ्चका उम्मेदवारहरू ‘लगानी बिनाको राजनीति’ को अवधारणाका साथ चुनावी मैदानमा उत्रिने छन् भनी बताए। कार्कीको भनाई अनुसार, चुनाउको समयमा ठूला-ठूला व्यापारीहरूले राजनीतिक दलहरूमाथि आर्थिक सहायताको रूपमा लगानी गर्ने गर्छन्। चुनाउ जितेपछि व्यापारीहरूले आफ्नो लगानी उठाउॅंछन्। यस क्रममा राज्य सरकार (हरू) पनि जन साधारणको हितलाई पर सारेर मालिकहरूकै इशारामा काम गर्न बाध्य बन्छन्।

प्रवीण शर्माले आफु पश्चिम सिक्किमको याङथाङ समष्टिबाट चुनाउ लड्ने बताउॅंदै क्षेत्रवासीहरूले झेल्दै आएका समस्याहरूको समाधान गर्न आफुले यो निर्णय लिएको बताए। राज्य सरकार (हरू) ले जनताको नाम गरेर आफ्ना मालिकहरूको हितमा काम गर्ने गरेको उनले आरोप लगाए। उनले सिक्किमका सरकारी विद्यालयको स्थिति सोचनीय रहेको बताउॅंदै यस विषयमाथि आजसम्म विधानसभामा चर्चा नभएको दाबी गरे। उनले राज्य सरकार सिक्किममा निजी शैक्षिक संस्थानहरू भित्र्याउन चाहन्छ, तर आफ्ना सरकारी विद्यालयहरूको स्थितिमा सुधार गर्न चाहॅंदैन भने।

आफुहरूले गेजिङ सरकारी महाविद्यालयको स्थायी भवनको निम्ति आवाज उठाउॅंदा वर्तमान सरकारले महाविद्यालयबाट निष्कासित गरिदिएको उनले दुखेसो पोखे। यति मात्र नभएर आफुहरूलाई आतङ्कवादीको संजा दिएको उनले आरोप लगाए। उनले राज्यमा स्वास्थ्य पूर्वाधारहरूको स्थिति पनि चिन्ताजनक रहेको छ भने। आफु स्वयं विधानसभाभित्र प्रवेश नगरेसम्म सुधार सम्भव नरहेकाले चुनाउ लडिरहेको उनले स्पष्ट गरे।

कैलाश प्रधान अप्पर तादोङ समष्टिबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाउ लड्ने भएका छन्। उनले विकासको निम्ति दीर्घकालीन योजना र मार्गचित्र हुनु आवश्यक रहेको बताउॅंदै वर्तमान सरकारले मनपरी काम गरिरहेको आरोप लगाए। उनले गान्तोकको निम्ति सरकारसॅंग भविष्यको योजना छैन भन्दै यहॉंका केही ठाउॅंहरूलाई पनि सरकारले बिक्री गरिसकेको बताए। उनले आफुहरूसॅंग दीर्घकालीन योजना रहेको र सोही अनुरूप काम गर्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *