गान्तोक: तादोङ डाँड़ागाउँ एसबीआइ ब्याङ्क अघि राष्ट्रिय राजमार्ग १० पार गर्दा पथिकहरू साथै वाहन चालकहरूलाई हुने समस्याको अब निदान भएको छ। राज्य सरकारले यहाँ एउटा फूट ओभर ब्रीज निर्माण गरेको छ जसको आज उद्धाटन गरियो। तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेलले आज डाँडागाउँमा निर्मित नयाँ फुट ओभर ब्रीजको विधिवत उद्घाटन गरे। उद्घाटन कार्यक्रममा शहरी विकास विभागका सचिव एमटी शेर्पा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
यस फुट ओभर ब्रीजको उद्घाटन हुन भन्दा अघि विधायक ढुङ्गेलले पूजा पाठ गरे। यसका साथै उनले उक्त ब्रीज निर्माणमा गर्न खटिएका मजदुर अनि ठेकादाकहरूलाई पनि सम्बर्द्धना जनाए।
उद्घाटन कार्यक्रम पछि पत्रकारहरूसँग कुराकानी गर्दै विधायक ढुंगेलले तादोङ क्षेत्रमा रहेको विभिन्न दुर्घटनाग्रस्त क्षेत्रहरूमा जनसाधारणलाई सहज रुपमा सड़क पार गराउन साथै दुर्घटनाको जोखिमलाई न्युन गर्नको निम्ति विभिन्न ठाउँहरूमा फूट ओभर ब्रीजको निर्माण गर्ने काम धमाधम भइरहेको बताए। यसै अन्तर्गत यहाँ निर्माण भएर आज उद्घाटन गरेर जनतालाई समर्पित गर्ने अवसर प्राप्त भएकोमा उनले खुशी व्यक्त गरे।
यसले ब्रीजले जनसाधारणलाई ठूलो राहत मिलेको विश्वास प्रकट गरे। आगामी दिनमा यहाँ सामुदायिक शौचालयको निर्माण पनि गरिने उनले बताए। जनताको निम्ति यो सबै भन्दा ठूलो कार्य केवल मुख्यमन्त्री प्रेमसिंह तामाङको कारण नै सम्भव भएको हुँदा उनले समस्त क्षेत्रवासीको पक्षबाट मुख्यमन्त्रीप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए।