पूर्व सरकारले २५ वर्षसम्म गुरूङ समुदायलाई विभाजन बाहेक अरू केही दिएनः मुख्यमन्त्री
गान्तोक: गुरूङ समुदायले धेरै वर्षदेखि प्रतिक्षा गरेको रोधी घरको आज निर्माण कार्य पुरा भएर पनि उदघाटन भयो। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गान्तोक जिल्ला अन्तर्गत सिच्छेमा निर्मित रोधी घरको उदघाटन गरे। लगभग पाँच करोड २९ लाखको लागतमा निर्माण गरिएको सात तले यो भवन विशेष गरेर गुरूङ समुदायको निम्ति धेरै उपयोगी रहनेछ। यसै क्रममा आज मुख्यमन्त्रीले सिङतामको गोलीटार खेल मैदानबाट नाम्ची जिल्लाको परबिङमा निर्माण गरिएको शेर्पा सामुदायिक भवनको पनि भर्चअलरूपमा उदघाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङले पूर्व सरकारले २५ वर्षको कार्यकालमा कुनै पनि जिल्लामा गुरूङ समुदायको भवन निर्माण नगरेको बताए। पूर्व सरकारको कार्यकालमा धेरै वर्षदेखि गुरूङ समुदायले तत्कालिन मुख्यमन्त्री समक्ष माग गर्दै आएको तर पनि कानमा तेल हालेर बसेको अवगत गराए। गुरूङ समुदायहरू मिलेर एक भएको पूर्व सरकारले देख्न नचाहेको हुनाले जहिले पनि विभाजन गरेर राजनीति गरेको दावी गरे। त्यसबेला राज्यका गुरूङ समुदायहरूलाई सुन्तला जस्तो बनाएर राखेको तर एसकेएम पार्टी सरकारमा आउन साथ सबै गुरूङ समुदायलाई एकताको सुत्रमा बाँधेर राख्न सफल बनेको जानकारी गराए। वर्तमान सरकारले गुरूङ समुदायको भाषा, साहित्य,संस्कृतिको संरक्षण गर्न वर्तमान सरकारले सबै प्रकारको सहयोग पुऱ्याएको जानकारी गराए।पूर्व सरकारले अधूरो छोडेको पूर्वधार वर्तमान सरकारले पूरा गरेर सम्वन्धित निकायलाई सुम्पिएको किटान गरे। अब गुरूङ समुदायले आफ्नो जातिको हितमा कुनै प्रकारको सभा आयोजना गर्न परेको खण्डमा रोधी घरमा नै गर्न सकिने बताए। देन्ताममा ८८ करोडको लागतमा गुरू पद्मसम्भव बुद्धिस्ठ स्टडी एवम मेडिटेसन सेन्टरको निर्माण गरिने घोषणा गरे। भविष्यमा मानेबुङ देन्ताम राज्यको सबै भन्दा विकसित निर्वाचन क्षेत्र बनाउनको निम्ति सरकारले पहल शुरू गरिसकेको पनि जानकारी गराए। चुनाउ सक्ने साथ उक्त योजनाको शिलान्यास गर्ने पनि घोषणा गरे। यसरी नै गुरूङ समुदायको निम्ति राज्यस्तरीय अतिथिगृहको पनि निर्माण गर्ने उनले अवगत गराए। सरकारले मनभित्रबाट सोच्यो भने कुनै कुरा असम्भव छैन् भन्ने प्रमाण वर्तमान सरकारले उदाहरण दिएको जानकारी गराए।सिक्किमको इतिहासमा चुनाउ नलडि मुख्यमन्त्री हुने म पहिलो व्यक्ति हुँ र सिक्किम विधानसभामा एउटै परिवारको दुई जना विधायक हुने पनि म नै हुँ, उनले भने। सरकारको सहुलियत पाउनबाट वञ्चित रहेकाहरूले चिन्ता नगर्ने उनले आग्रह गरेका छन्।चार वर्षमा अस्थायी कर्मचारीहरूलाई स्थायीकरण गर्ने नीति सरकारले भोटको निम्ति नभएर गरीबको घरमा खुशीको लहर ल्याउनको निम्ति बनाएको जानकारी गराए। पूर्व सरकारले २० वर्षमा स्थायीकरण गऱ्यो तर वर्तमान सरकारले पाँच वर्षको अवधिमा स्थायीकरण गरेर उदाहरण प्रस्तुत गरेको बताए। एसकेएम पार्टी र पीएस गोलेमाथि भरोसा राखेमा सबै कुरा सम्भव हुने विश्वास दिलाए। अब जनताले जिताएका जिल्ला अध्यक्ष, उपाध्यक्ष आदिले पार्टीलाई सहयोग गरेर टेवा बन्नुपर्ने सुझाउ दिए।जसले पनि टिकट पाउँछ पार्टीकै रहने भएको हुनाले सबैले यसलाई बुझ्नु पर्ने आग्रह गरे।

सोही प्रकारले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री जीएम गुरूङले पूर्व मुख्यमन्त्री चामलिङले मेरो विकल्प छैन् भन्दै दावी गर्थे तर विकल्पकोरूपमा पीएस गोले निस्के पछि अहिले विकल्प छैन भन्न छोडेको अवगत गराए।
चामलिङलाई धेरै वर्षसम्म शासन गर्ने अवसर जनताले दिए भने अब वर्तमान मुख्यमन्त्रीलाई अझ मौका दिएर हेर्नुपर्ने आग्रह गरे। उनले पार्टीका कार्यकर्ताहरूलाई अब दुई महिना धेरै मेहनत गर्नुपर्ने सुझाउ दिए। विशेष गरेर आगामी चुनाउलाई ध्यानमा राख्दै पार्टीका कार्यकर्ताहरूले मनबाट काम गर्नुपर्ने आग्रह गरे। वर्तमान सरकारले गुरूङ समुदायलाई मात्र नभएर अन्य समुदायलाई पनि धेरै सहयोग गरेको जानकारी गराए। बगेको खोला फर्कि आउँदैन्,लडको रूख उठदैन् र हारेको सरकार फेरि आउन नसक्ने उनले किटान गरे।जसरी भए पनि गुरूङ समुदायबाट विधानसभामा प्रतिनिधि पठाउनु पर्ने गुरूङ समुदायलाई अपील गरे। वर्तमान मुख्यमन्त्रीको शब्दकोषमा असम्भव भन्ने कुनै शब्द नरहेको पनि अवगत गराए। यस अवसरमा मुख्यमन्त्रीले मुख्यमन्त्री विवेकाधीन कोषबाट विभिन्न संस्था साथै विद्यार्थीहरूलाई अध्ययनको निम्ति आर्थिक सहयोग प्रदान गरे।