गोर्खा हार्नु हुँदैन: अनित थापा
सिलगढी: कोलकाताको ब्रिगेड मैदानमा जनगर्जन कार्यक्रममा दार्जीलिङ संसदीय क्षेत्रको प्रार्थी घोषित भए पश्चात आज बिहान ११ बजे गोपाल लामा बाघडुग्रा हवाई अड्डा आईपुगे। पहाड अनि समतलबाट बीजीपिएम र तृणमूलका नेतृत्वदेखि कार्यकर्ताहरुको ठूलो झुण्डले उनलाई स्वागत जनाए। हवाई अड्डादेखि निस्केको जुलुस एउटा स्वागत कार्यक्रममा परिणत भयो।
स्वागत समारोहलाई सम्बोधन गर्दै बीजीपिएमका अध्यक्ष अनित थापाले पार्टीका नेतृत्वदेखि कार्यकर्तासम्मलाई गोपाल लामालाई जिताउने आह्वान् गर्दै भने, “आजदेखि हरेक व्यक्ति नै गोपाल लामा हुन्। आजदेखि प्रत्येक नेता, सभासद, पञ्चायत सदस्यहरू, कार्यकर्ताहरु गाउँ गाउँ पसेको हुनुपर्छ। गोपाल लामालाई जिताउने तपाईहरूको जिम्मेवारी हो। आजदेखि हरेकको कर्म धर्म भनेको नै गोपाल लामा सर हो। चुनावपछि परिणाम पनि आउँछ। परिणामको गन्ती हुनेछ। त्यति याद राखौं। सबैले आफ्नो जिम्मेवारी निभाउनुपर्छ। गोपाल लामालाई जिताउने दायित्व बुथ स्तरदेखि पञ्चायत सदस्य, सभासद सबैको हो। सबै आफ्नो आफ्नो गाउँमा पसेको हुनुपर्छ। हरेकले आफ्नो गाउँ जिताउनु पर्छ। आफ्नो गाउँ जिताउनु होस हामी ठूलो भोट पाएर विजयी बन्नेछौं।”
उनले थप भने, “यसपाली हाम्रो विजय निश्चित छ। यसपाली सिलगढीले पनि गोपाल लामा सरलाई बहुमत दिएर जिताउनेछ। अब पहाडमा जिताउने दायित्व हाम्रो हो। हामी हार्यौ भने गोर्खा हार्छ। गोर्खा हार्नु हुँदैन। उहाँहरूले गोर्खालाई जिताउँछ भने हामीले अझ बढी भोटले जिताउनु पर्छ।”
उनले अझ भने, “पहाडमा हामीले जति पनि चुनाव लड्यौं हाम्रो आफ्नै चुनाव चिन्ह अनि बलबुतामा लड्यौं। तर संसदको चुनावमा विगत १५ वर्षसम्म दिल्लीको सरकारको चुनाव चिन्हमा चुनाव लड्यौं। तर १५ वर्षसम्म हामीले भाजपाबाट काँटीसम्म पनि पाएनौं। बीजेपीले हाम्रो जीवनको १५ वर्ष खाई दिएको छ। २०१७ देखि मैले तृणमूलसँग गठबन्धनमा रहेर काम गर्दै आएको छु। तृणमूल सरकारले जुन जुन वचन दिएको थियो त्यो सबै पूरा गरिदिएको छ। हाम्रो पार्टीको गोर्खा उम्मेद्वार दिएर ममता बनर्जीले हामीलाई ठूलो जिम्मेवारी दिएको छ। त्यो हाम्रो निम्ति ठूलो कुरा हो। घमण्डको कुरा हो।”

अनित थापाले सबैलाई आह्वान् गर्दै भने, “यसपालीको भोट गोर्खाको एकताको परिचय दिने भोट हुनुपर्छ। बङ्गाली अनि गोर्खामाझ विभाजन गराउने पुरानो राजनीति छोड्नुपर्छ। सबै जातसँग मिल्ने जात हो गोर्खा। बङ्गालीहरुले गोर्खाको उम्मेद्वारलाई जिताउनु चाहन्छ। हामीले हाम्रो आफ्नै गोर्खा दाज्यूलाई जिताउनु कम्मर कस्नुपर्छ। राजनीति भावनामा गर्नु हुँदैन। यथार्थको राजनीति गर्नु पर्छ।”
यस अवसरमा उनले रिम्भिकदेखि चुनाव प्रचार सुरु हुने घोषणा पनि गरे।