खरसाङ: वर्तमान समयमा विश्वभरि फूड कल्चर (खाद्य संस्कृति)ले सर्वाधिक रुपमा नै लोकप्रियता हासिल गरेको छl खाना हिजोआज पर्यटनको बिडो थाप्ने मुख्य मेरुदण्ड भएको छl यसैले गर्दा फूड टुरिजम तेज रफ्तारमा विकसित हुँदै गइरहेको छl यसका साथै यो रोजगारको एउटा सशक्त माध्यम बनेको छl जातीय खानपानलाई अझ बढी व्यापकता प्रदान गर्न खरसाङको ग्लोरियस इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट (ग्लोरियस आईएचएम)ले अन्तर्राष्ट्रिय महिला दिवसको छेक परेर गएको ९ मार्चको दिन वुमेन्स कुकिङ कम्पिटिशन आयोजना गरेको थियोl

खाना पकाउने यस प्रतियोगिता अर्गनाइजेसन फर एडभान्सिङ बेटर सोसाइटी र भारतीय गोर्खा सेफहरूको संस्था इण्डियन रोयल गोर्खा कलनेरी सेफ फेडरेसन (आईआरजीसीसीएफ) सितको साझेदारी आयोजना गरिएको थियोl खरसाङ बजारदेखि मुनि पीबी रोड स्थित प्रजापिता ब्रम्हकुमारी ईश्वरीय विश्वविधालयको कार्यालय नजिक ग्लोरियस इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टको इन्स्टिच्युटमा सो प्रतियोगिता आयोजना भएको थियोl

पाककलामा आफ्नो प्रतिभालाई उजागर गर्ने र यसलाई व्यापक रुपमा विस्तार गराउनलाई महिलाहरुका लागि एउटा मञ्च प्रदान गर्नु यस प्रतियोगिताको उद्देश्य रहेको थियोl खाना पकाउने यस्तो प्रतियोगिता खरसाङमा पहिलो पटक भएको होl ग्लोरियस आईएचएमका निर्देशक गगन लामाले बताएअनुसार, यस प्रतियोगितामा ११ जना महिलाहरूले भाग लिएका थिएl

पारम्परिक गोर्खाली खानाबारे यो प्रतियोगिता आयोजना गरिएको थियोl प्रतियोगितामा खरसाङका विभिन्न ठाउँका महिलाहरू साथै खरसाङ महाविद्यालयका छात्रा पनि सहभागी थिएl प्रतियोगिताका प्रथम विजेता श्रीमती कल्पना तामाङ घोषित भइन् भने दोस्रो विजेता भूमिका छेत्री अनि तेस्रो विजेता सरिता तामाङ भइन्l प्रथम विजेतालाई तीन हजार रुपियाँ, प्रमाणपत्र र स्मृति चिन्ह प्रदान गरियो भने दोस्रो र तेस्रो विजेतालाई प्रमाणपत्र र स्मृति चिन्ह प्रदान गरियोl

अन्य सबै प्रतियोगीहरूलाई प्रशंसापत्र प्रदान गरियोl प्रतियोगितामा पूर्ण रुपले अनुभवी निर्णायकहरू ग्लोरियस आईएचएमकी प्रशिक्षिका शेफ बिनिता तामाङ, शेफ मिना प्रधान (रेष्टुरेन्ट सञ्चालिका) र शेफ रुपेन गुरुङ थिएl खानपान र यसको गुण अनि मानव मूल्यबारे प्रजापिता ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयकी राजयोगिनी दुर्गा दिदीले वक्तव्य प्रस्तुत गरिन् भने ग्लोरियस आईएचएमका निर्देशक गगन लामाले ग्लोरियस आईएचएमको उद्देश्य र भिजनबारे संक्षिप्तमा जानकारी दिएl प्रतियोगीहरूले पाककलामा आफ्नो कौशलअनुसार स्वादिस्ट खाना बनाएका थिएl

यस प्रकारको प्रतियोगिताबाट आफ्नो प्रतिभा प्रदर्शन गर्न पाएकोमा सबै प्रतियोगीहरूमा नयाँ उर्जा संचार भएको थियोl ग्लोरियस आईएचएमले यस्तो आत्मविश्वास बढाउने प्रतिगिता आयोजना गरेको सबैले प्रशंसा गरेl आउँदो दिनमा अझ नयाँ कार्यक्रम गर्ने जमर्को ग्लोरियस आईएचएमले उठाएको छl सन् २०१७ मा स्थापित भएको ग्लोरियस आईएचएमले वर्तमान समयमा व्यापकता हासिल गरेको यस्तो रोजगारमूलक प्रशिक्षण सुलभ मूल्यमा दिँदै आएको छl यस बाहेक सामाजिक जनचेतनामूलक कार्यक्रमहरूमा आफ्नो सहभागिता जनाउँदै आएको छl