नयाँ दिल्ली: भारतका शीर्ष टी२० ब्याटर सूर्यकुमार यादव खुट्टाको चोटको सर्जरीपछि बेंगलुरुको राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-मा चोटमुक्त हुने प्रक्रियामा रहेका छन्। फिटनेस हासिल गर्ने गोरेटोमा अग्रसर सूर्या आईपीएलको आउँदो सीजनमा मुम्बई इण्डियन्सको तर्फबाट पहिलो दुईवटा म्याचमा खेल्ने सम्भावना चाहिँ कम्ती नै रहेको छ। आईपीएल २०२४-मा मुम्बई इण्डियन्सले आफ्नो अभियानको शुरुवात २४ मार्चमा गत सालको उपविजेता गुजरात टाइटन्स विरुद्ध गर्नेछ। आईसीसी टी२० ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष स्थानमा रहने सूर्या अहिले खेलमा फर्किन कठोर मेहनत गरिरहेका छन्। बीसीसीआई-का एकजना सीनियर अधिकारीले भने, सूर्यकुमारको रिह्याबिलिटेशन सही बाटोमा रहेको छ अनि उनले आईपीएलको आउँदो सत्रमा निश्चित रूपले हिस्सा लिनेछन्। यसबीच एनसीए-को स्पोर्ट्स साइन्स र मेडिकल टीमले उनलाई गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद (२७ मार्च) विरुद्ध पहिलो दुईवटा म्याचमा खेल्ने अनुमति दिनेछ या छैन भन्ने चाहिँ अहिलेसम्म स्पष्ट भएको छैन। उल्लेखनीय छ, सूर्यकुमारले सोशल मीडियामा आफ्नो स्ट्रेन्थ एण्ड कण्डीशनिंगसँग सम्बन्धिक अभ्यास गरिरहेको केही भीडियो शेयर गरेका थिए। उनले ब्याटिंग अभ्यासको चाहिँ कुनै भीडियो शेयर गरेका छैनन्। सूर्यकुमार मुम्बई इण्डियन्सका महत्त्वपूर्ण ब्याटर हुन्। उनले ६० वटा टी२० इण्टरनेशनल क्रिकेट म्याचमा ४ वटा शतक र १७१ भन्दा अधिकको स्ट्राईक रेटले २१४१ रन बनाएका छन्।