सोनादा: टुङ-सन्तमेरिज समष्टि अन्तर्गत सन्तमेरिज ग्राम पञ्चायत दुईद्वारा १५औं वित्तिय योजना अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरूमा विकासमूलक कार्यहरुको शिलान्यास कार्यक्रम सम्पन्न गरियो। स्थानीय सिङ्गेल कोठीधुरा खेल मैदानमा आयोजित उक्त शिलान्यास कार्यक्रममा सन्तमेरिजग्राम पञ्चायत दुईका प्रधान सहदेव तामङले कार्यक्रमको अध्यक्षता गरेका थिए भने टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पाको विशेष उपस्थिति रहेको थियो। उक्त ग्रामीण विकासमूलक कार्यहरु सफल अनि सुचारु रुपले सम्पन्न होस् भन्ने हेतुले पण्डितद्वारा पूजा-अर्चना गरेपछि समष्टि सभासद नुरी शेर्पा अनि सन्तमेरिज ग्राम पञ्चायत दुई प्रधानद्वारा १५औं वित्तिय योजना अन्तर्गत २०२३-२४ को वित्तिय वर्षमा जम्मा ३५ वटा ग्रामीण विकासका कार्यहरुको शिलान्यास गरियो। जम्मा एक करोड सात लाख पन्चानब्बे हजार छ रुपियाँ (रु.१०७९५००६)-को लागतमा हुने कार्यहरु ग्राम पञ्चायत अधीनस्थ सन्तमेरिज हिल, गोथल्स साइडिङ, खहरे बस्ती, सिङ्गेल अनि काफीबारीका विभिन्न क्षेत्रहरु रहेको छ।
सन्तमेरिज ग्राम पञ्चायत दुईका सचिव सागरराज छेत्रीले सबैलाई स्वागत जनाउँदै उक्त विकासमूलक कार्यहरुको विवरण प्रस्तुत गरे अनि कार्यहरुको तक्निकी विषयमाथि पनि प्रकाश पारे। उसरी नै समष्टि सभासद नुरी शेर्पाले आफ्नो सम्बोधनमा भने कि विगत २१/२२ वर्षदेखि पञ्चायतको विकासमूलक कार्यहरु ठप्प रहेको हुनाले सम्पूर्ण पहाड नै ग्रामीण विकासको कार्यदेखि वञ्चित रहनु परेको थियो। तर आज पञ्चायती व्यवस्था पुन: सञ्चालनमा आएपछि राज्य सरकारसँग सही तालमेल अनि मिलेर कार्य गर्दा यस्ता विकासमूलक कार्यहरु गाउँ-गाउँमा आइसकेकोले ग्रामवासीहरुले लाभ उठाउन सक्ने छन्। उसरी नै वागवानी विभागका एमओडी सभासद प्रणाम रसाइलीले पनि आफ्नो छोटो सम्बोधनमा ग्राम पञ्चायत अन्तर्गत यसरी विकासमूलक कार्यहरु हुने भएकोमा खुशी व्यक्त गरे अनि सन्तमेरिज ग्राम पञ्चायत दुई क्षेत्रका विभिन्न फल-फूल अनि खेतीपाती गर्ने उद्धमीहरुलाई १०० वटा पोलि हाउस् दिने वाचा पनि गरे।
सन्तमेरिज ग्राम पञ्चायत दुईका सदस्या रेश्मा दियाली थापाद्वारा सञ्चालन गरिएको कार्यक्रममा शिलान्यास कार्यक्रमको साथ विभिन्न नृत्य प्रस्तुतिहरु पनि रहेको थियो जसमा अवन्तिका थापा, स्मृति प्रधान, साङ्मा अनि निमसाङ, सेजल अनि बिनिशिका, कृतिशा अनि विशिका, लगायत काफीबारीका बाल-वालिकाहरुद्वारा नृत्यहरु प्रस्तुत गरियो। उक्त शिलान्यास कार्यक्रममा भागोप्रमो खरसाङ महकुमा समितिका अध्यक्ष एवं खरसाङ नगरपालिका उपाध्यक्ष सुभास प्रधान, सन्तमेरिज ग्राम पञ्चायत दुईका उप-प्रधान प्रशंसा लेप्चा, ग्राम पञ्चायतका सम्पूर्ण सदस्य/सदस्यागण, सन्तमेरिज ग्राम पञ्चायत दुईका कर्मचारीवर्ग, भागोप्रमो समष्टि प्रतिनिधिहरू लगायत विभिन्न गाउँका ग्रामवासीहरुको उपस्थिति रहेको थियो। सभाध्यक्ष सन्तमेरिज ग्राम पञ्चायत दुईका प्रधान सहदेव तामङद्वारा उक्त शिलान्यास कार्य सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै यी ग्रामीण विकासमूलक कार्यहरु सठीक अनि गुणस्तरीय रुपले गरिनु पर्ने बताएका छन्।










