गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टी (एसडीएफ)ले पार्टीका अध्यक्ष तथा पूर्वमुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा राज्यमा बढ्दो राजनीतिक हिंसामा गम्भीर चिन्ता व्यक्त गर्दै विशाल शान्ति र्याली निकाल्यो। एसडीएफको मुख्यालय इन्दिरा बाइपासबाट शुरु भएको र्याली जिल्ला प्रशासनिक केन्द्रमा समापन भएको थियो। शान्ति र्यालीको मुख्य कारण निवर्तमान सभामुख केएन राईमाथि भएको हमलाको विरोध गर्नु थियो। र्यालीपछि संचारकर्मीलाई सम्बोधन गर्दै पवन चामलिङले एसकेएमको शासनकालमा हिंसा बढ्दै गएको र निर्वाचन शान्तिपूर्ण हुने निश्चित नभएको भन्दै सरकारले तत्काल राष्ट्रपति शासन लागू गरोस् भन्ने कुरा दोहोर्याए। भारत निर्वाचन आयोगको चाहनाबमोजिम स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा मतदान गराउनु पर्छ भन्ने उनले बताएका छन्। उनले भने, ‘उनीहरूले हिंसाको स्तर पनि बढाउनेछन्। यो उनीहरूको विशिष्ट प्रक्रिया र विधि हो। यसले राज्यपाललाई संविधानको धारा ३७१ एफ(जी) अन्तर्गत आफ्नो विशेष अधिकार प्रयोग गरी राष्ट्रपति शासन लागू गर्न थप आधार दिन्छ। एसडीएफ शान्ति र व्यवस्था कायम गर्न चाहन्छ भन्ने कुरालाई हामी दोहोर्याउँछौंl’ पवन चामलिङले केएन राई माथी हमला गर्ने मुख्य आरोपी सातै जनालाई पुलिसले पक्राउ गरिसकेको भए पनि मास्टरमाइन्डलाई पक्राउ गर्न माग गरेका छन्।









