नयाँ दिल्ली: लोकसभा चुनाव अघि शुक्रबार ८ मार्चमा निर्वाचन आयुक्त अरुण गोयलले आफ्नो पदबाट राजीनामा दिएका थिए भने अनुपचन्द्र पाण्डेले गत महिना अवकाश लिएका थिए। त्यसपछि अहिले दुई निर्वाचन आयुक्तको पद रिक्त छ। अब यी पदहरूमा नियुक्तिका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मार्च १५ मा बैठक बस्न सक्नेछ। निर्वाचन आयुक्तको रिक्त पद पूर्ति गर्न प्रधानमन्त्रीको संयोजकत्वमा रहेको समितिको बैठक १५ मार्च साँझ ६ बजे बस्नेछ। यसको मतलब लोकसभा चुनावको मिति मार्च १५ पछि मात्र घोषणा हुनसक्छ। छनोट समितिको १५ मार्चमा बैठक बसेर निर्वाचन आयुक्तमा नियुक्तिका लागि नाम टुंगो लगाउने छ। त्यसपछि राष्ट्रपतिले निर्वाचन आयुक्तको नियुक्ति गर्नेछन्। राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार अरुण गोयलको राजीनामा स्वीकृत गरेपछि कानुन मन्त्रालयले एक सूचना जारी गरी सोको घोषणा गरेको हो। अब निर्वाचन आयोगले २ निर्वाचन आयुक्त नियुक्त गरेपछि मात्रै लोकसभा निर्वाचनको मिति घोषणा गर्न सक्नेछ। तर, यसपटक पनि २०१९ को लोकसभा चुनाव जस्तै ७ चरणमा चुनाव गराउने सम्भावना छ। मिडिया रिपोर्टका अनुसार पहिलो चरणको मतदान अप्रिलको दोस्रो हप्तामा हुनसक्छ।










