खरसाङ: ४ करोड़ ६१ लाख रुपियाँको खर्चमा खरसाङको जीडीएनएस हललाई पुनर्निर्माण गरेर अडोटोरियम हल बनाईने भएको छ। उक्त कार्यको आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ। खरसाङमा एक असल भवन निर्माणको लागि गरिएको पहल अनुसार जीटीए प्रमुख अनित थापाको अगुवाईमा खरसाङको गोर्खा दु:ख निवारक सम्मेलन भवन (जीडीएनएस) लाई नै तोड़ेर वृहत रूपमा अडिटोरियम भवन निर्माण गरिने भएको छ। जीटीएको सूचना अनि सांस्कृतिक विभागबाट ४ करोड़ ६१ लाख रुपियाँको खर्चमा बनिन लागेको उक्त भवनको शिलान्यास कार्यक्रम आज सम्पन्न भएको छ। उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता सभासद श्याम शेर्पाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा उपस्थित रहेका थिए। उक्त कार्यक्रममा नै खरसाङको जीडीएनएस हललाई पुनर्निर्माण गरेर अडिटोरियम निर्माणको लागि शिलान्यास कार्य पण्डितद्वारा पूजा अर्चना गरी थालिएपछि संगीतका गुरु गोबिन्दसिंह घतानीको बाहुलीबाट शिलान्यास कार्य सम्पन्न गरिएको छ। रचयिता छेत्री र बीरबल पाख्रीनले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण जनसम्पर्क अधिकारी सुवास प्रधानले राखेका थिए। कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थान खरसाङको पक्षमा आशा मुखिया लामा, गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट अध्यक्ष पूर्ण गुरुङ निरूपम, कला संगीतकारहरूक पक्षमा संगीतकार महेश्वर लामा लगायत प्रमुख अतिथि कार्यकारी सभासद अनोश थापा र सभाध्यक्ष सभासद श्याम शेर्पाले सम्बोधन गरेका थिए। सूचना अनि सांस्कृतिक विभागको कलाकारहरूद्वारा भजन प्रस्तुत गरिएपछि थालिएको कार्यक्रममा गीत, नृत्य आदि पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक बिमल राई, संगीतका गुरु गोबिन्दसिंह घतानी, संगीतकार महेश्वर लामा, पूर्ण गुरुङ निरुपम, उत्तम प्रधान, आशा मुखिया लामा लगायत विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू, गायक, संगीतकार र कलाकारहरू विशेष रूपमा उपस्थित रहेका थिए। खरसाङमा सम्पन्न शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।










