क्राइस्टचर्च: एलेक्स केरीको अविजित ९८ अनि मिचेल मार्शको ८० रनको अर्द्धशतकीय ईनिंग्सको सहायताले दोस्रो टेस्टमा ३४ रनमा ४ विकेट गुमाएर जुझिरहेको अष्ट्रेलियाले न्यूजील्याण्ड विरुद्ध ३ विकेटले रोमाञ्चक जीत हासिल गरी सीरीज २-०-ले जित्यो। अष्ट्रेलियाले आज २७९ रनको लक्ष्यलाई खेदो गर्दै ७ विकेटमा २८१ रन बनाएर जीत हासिल गऱ्यो। सोमवार बिहानको सत्रमा ट्रेविस हेड २५ रन बनाएर आउट हुँदा अष्ट्रेलियाको निम्ति म्याचमा जीत हासिल गर्नु मुश्किल लागिरहेको थियो। यस्तो चरम दबाउमा विकेटकीपर केरी र मिचेलले धैर्यको साथ असाधारण ब्याटिंग गर्दै छैटौं विकेटको निम्ति १४० रन जोड़ेर अष्ट्रेलियालाई जीतको नजिक पुऱ्याए। अष्ट्रेलियाई टी२० टीमका कप्तान मार्शले १०२ बल खेलेर ८ वटा चौका र एउटा छक्काको सहायताले ८० रन बनाए। उनलाई बेन सीयर्सले एलबीडब्ल्यू आउट गरे। त्यसको लगत्तै पछि सीयर्सले मिचेल स्टार्कलाई शून्यमा आउट गरी अष्ट्रेलियालाई फेरि चेपारोमा पारे। त्यहाँबाट कप्तान प्याट कमिन्सले केरीसँग आठौं विकेटको निम्ति ६१ रनको अटूट पार्टनरशीप गरी न्यूजील्याण्डको हार सुनिश्चित गरे। केरीले १२३ बल खेलेर १५ वटा चौकाको साथ अविजित ९८ रन बनाए। यसरी कप्तान कमिन्स ३२ रनमा अविजित रहे। उनले ४४ बल खेलेर ४ वटा चौका लगाए। न्यूजील्याण्डका बलरहरूमा सीयर्सले ४ र म्याट हेनरीले २ विकेट लिए। हेग्ले ओवल मैदानमा खेलिएको म्याचमा न्यूजील्याण्डले आफ्नो पहिलो ईनिंग्समा १६२ रन बनाएको थियो। त्यसपछि अष्ट्रेलियाको पहिलो ईनिंग्स २५६ रनमा समाप्त भएको थियो। न्यूजील्याण्डले आफ्नो दोस्रो ईनिंग्समा ३७२ रन बनाउँदा अष्ट्रेलियालाई म्याच जित्न २७९ रन बनाउने लक्ष्य हासिल भएको थियो। अविजित ९८ रन बनाउनको साथै १० वटा क्याच लिने केरीलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दुईवटा टेस्टमा १०१ रन बनाउनको साथै १७ विकेट लिने न्यूजील्याण्डका पेस बलर हेनरीलाई प्लेयर अव् द सीरीज चयन गरियो।










