सिलगढी: प्रधान नगर थाना पुलिसले ३० बोतल प्रतिबन्धित कफ सिरप सहित एकजना युवकलाई पक्राउ गरेको छ।पुलिसले पक्राउपछि सो युवकलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम प्रदीप दर्जी (२९) बताइएको छ। तिनी सालबारी बजार इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार गत राति नाका चेकिङ अवधि पुलिसले मेथीबारी पेट्रोल पम्प नजिक एकजना युवक ब्याग बोकेर घुमफिर गरिरहेको देखेपछि पुलिसलाई सन्देह लागेर युवकलाई रोकेर छानबीन गर्दा ३० बोतल प्रतिबन्धित कफ सिरप उद्धार गरेको बताइएको छ। पुलिसले उक्त प्रतिबन्धित कफ सिरपको वैध कागजपत्र माग्दा युवकले सो देखाउन नसकेपछि पुलिसले तिनलाई पक्राउ गरेको छ। पक्रा परेका युवकले गत केही समय अघिदेखि सालबारी बजार इलाकामा प्रतिबन्धित कफ सिरपको डिलेभरी गर्ने काम गर्दै आइरहेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।










