लण्डन: ईंग्लिश प्रीमियर लीगको जारी सीजनमा खिताब जित्ने रेसमा अग्रिम पंक्तिमा रहने दुई टीम लिभरपूल र म्यानचेष्टर सिटीबीच खेलिएको हाई भोल्टेज म्याच १-१-ले ड्र रह्यो। यसबीच टोटनह्यामले चाहिँ सजिलै जीत हासिल गऱ्यो। लिभरपूलको होम ग्राउण्ड एनफील्डमा ४७ प्रतिशत पोजेशनको साथ खेल्ने वर्तमान च्याम्पियन म्यानचेष्टर सिटीले शुरुमै बढ़त हासिल गऱ्यो। पेप ग्वार्डियोलाको टीमलाई जन स्टोन्सले २३औं मिनटमा बढ़त दिलाए। लिभरपूलले पनि स्कोर बराबरीमा पुऱ्याउन अधिक समय लगाएन। होम टीमबाट एलेक्सिस म्याक एलिस्टरले ५०औं मिनटमा पेनल्टीबाट गोल गरे। त्यसपछि रहल समयमा दुवै टीमले गोल गर्न नसक्दा म्याच ड्र रह्यो अनि यस ड्र-ले आर्सनललाई चाहिँ फाइदा भयो। आर्सनल २८ वटा म्याचमा ६४ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्षमा कायम रह्यो। दोस्रो स्थानमा रहने लिभरपूलसँग पनि २८ वटा म्याचमा ६४ पोइण्ट्स नै रहेको छ तर गोल अन्तरको आधारमा आर्सनल शीर्षमा कायम रह्यो।

यसरी सिटीको टीम ६३ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ।
यसरी टोटनह्यामले मध्यान्तरपछि उत्कृष्ट प्रदर्शन गर्दै दशजना खेलाड़ीमा सीमित एस्टन भिल्लालाई ४-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामबाट जेम्स मेडिसनले ५०औं र ब्रेनान जनसनले ५३औं मिनटमा गोल गरे। विजेता टीमले अन्तिम दुईवटा गोल अन्तिम क्षणमा हासिल गऱ्यो। सोन ह्युंग-मिनले इञ्ज्युरी टाइमको पहिलो अनि टिमो वेर्नरले चौथो मिनटमा गोल गरे। एस्टन भिल्लाका जन म्याकगिनलाई घातक ट्याकलको निम्ति ६५औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि टोटनह्याम २७ वटा म्याचमा ५३ पोइण्ट्सको साथ पाँचौं स्थानमा पुग्यो जबकि चौथो स्थानमा रहने एस्टन भिल्लासँग २८ वटा म्याचमा ५५ पोइण्ट्स रहेको छ।

अन्य एउटा म्याचमा ब्राइटनले नटिंघम फरेष्टलाई १-०-ले पराजित गऱ्यो जबकि वेष्ट ह्याम र बर्नले बीचको म्याच २-२-ले ड्र रह्यो।










