गोपाल लामा गोर्खाको उम्मेदवार हुन्: अनित थापा

IMG-20240310-WA0181.jpg

दार्जीलिङ: कोलकाताको ब्रिगेड मैदानबाट तृणमूल कांग्रेसका अभिषेक बनर्जीले दार्जीलिङ संसदीय क्षेत्रको उम्मेदवार घोषणा गर्नको साथ साथमा चुङथुङ ऋषिहाट समष्टिमा आयोजित शिलान्यास कार्यक्रमको सम्बोधनमा अनित थापाले पनि प्रार्थीको नामको आधिकारिक घोषणा गर्दै भने, “गोर्खाको उम्मेद्वार गोपाल लामा हुन्। हामीले हाम्रै उम्मेद्वार उठाएका छौं। मैले पहिला नै भनेको थिए कि हाम्रै मान्छे यहाँको उम्मेद्वार हुनुपर्छ। हामीले हाम्रो चिन्हमा चुनाव जित्नु सक्दैनौं। त्यसर्थ तृणमूलसँग हाम्रो गठबन्धन भएको कारण मैले तृणमूलसँग पनि हामीलाई हाम्रै उम्मेदवार दिने कुरा गरे। त्यसै अनुसार गोपाल लामालाई मैले यिनै हाम्रा उम्मेद्वार हुन् भनेर चिनाउने काम गरेको थिए।”
उम्मेदवारको नामको घोषणाको साथमा भाजपाप्रति तीब्र प्रहार गर्दै थापाले भने, “दिल्लीको फूलले हामीलाई 15 वर्ष झुक्यायो। अब झुक्किने काम छैन। यसपाली हामीलाई झुक्याएको जवाब राम्ररी दिनु पर्छ।”
उनले जनतालाई आह्वान् गर्दै भने, “जसरी हामीले बीजेपीलाई एकमुष्ट भएर भोट दिएर जिताएका थियौं। त्यसरी नै यसपाली बीजेपीलाई हराउन एकमुष्ट भोट बिजेपीको विरुद्धमा हालेर बीजेपीलाई हराउनु पर्छ। गोर्खालाई धोखा दिँदा गोर्खाले के गर्छ त्यो उनीहरूले पनि थाहा पाओस्।”
उनले अझ भने, “यसपाली गोर्खा एकता देखाउने समय हो। तीनपल्ट झुक्किएर पनि फेरि पनि झुक्किन्छौ भने गोर्खा जाति जस्तो लाठुवा अरु कुनै लठुवा छैन।”
पहाडमा अब उपलब्धिमाथि भोट हुनेछ। जनताले सचेत भएर भोट दिनेछन् भन्दै उनले फेरि भने, ” यसपाली अन्य पार्टीको भोट माग्ने कुनै मुद्दा छैन। उनीहरूले अनित थापालाई गाली गरेर भोट माग्नेछन्। अनित थापाले टिस्टामा के गर्यौं भनेर अहिले पनि कराउँदैछ हिँड्दैछ। “
हाम्रो चाहना गोर्खाल्याण्ड हो। तर प्रधानमन्त्रीले हिजो मात्र आफ्नो भाषणमा न त जनजातिको कुरा गर्यो न त गोर्खाल्याण्डको नै। अहिले आएर त गोर्खाको समस्यामाथि संवेदनशील छु भन्ने बयान दिएर गयो। अब फेरि हामी झुक्किनु हुँदैन भन्दै थापाले भने, “यसपालीको जीत गोर्खाको जीत हुनुपर्छ। गोर्खा एकताको जीत हुनुपर्छ। हामीले जुन वचन दिएका थियौँ त्यो सबै पूरा गरेका छौँ।बीजेपी गोर्खा विरोधी पार्टी हो।’
गोपाल लामा को हुन त? गैरी गाउँ, टुङ, खरसाङमा जन्मेका गोपाल लामाले प्रारम्भिक शिक्षा महारानी प्राथमिक विद्यालय, सेन्ट अल्फन्स विद्यालय, खरसाङ, सेन्ट रोबर्ट स्कूल, दार्जीलिङ्गबाट लिए। दार्जिलिङमा अध्ययनरत हुँदा उनले बोयज भर्तीमा भर्ती भए अनि त्यहीबाट उच्च शिक्षा आर्जन गरे। १९८२ मा उनले सेना छोडेर घर फर्के। १९८३ मा सिक्किममा गएर शिक्षण पेशामा केही समय बिताए। तत्पश्चात १९८५ मा डब्ल्यूबीसीएस परीक्षा उतीर्ण गरेर पहिलो पोस्टिङमा पुरुलिया पुगे। बीडिओको पदभार सम्हाल्दै उनले कूचबिहार, सिलगढीमा पनि कार्य गरे। पछि एसडीओ अनि पर्यटन विभागका सह निर्देशक भएर सिलिटगढीमा कार्य गरे। २०१४ देखि २०१७ सम्म उनले जीटीएमा एडीजीएम को कार्यभार पनि सम्हालेका थिए। उनले एक अधिकारी भएर दार्जीलिङ जिल्लालाई २० वर्ष लामो सेवा पुर्याएका छन्। गोपाल लामा भन्छन,”जनतालाई सहयोग गर्ने मेरो चरित्र पुरानो नै हो।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement