गान्तोक: एसकेएम पार्टीको जनभरोसा सम्पर्क यात्रा अभियान अन्तर्गत आज गान्तोक र पाकिम जिल्लाले संयुक्तरूपमा कार ऱ्याली आयोजना गऱ्यो। अदमपुलदेखि शुरू भएको कार ऱ्याली तादोङ, देउराली, गान्तोक, बुर्तुक, राङ्का, सिङताम हुँदै राजधानीस्थित रिज पार्कमा पुगेर समापन भयो।
यस ऱ्यालीमा हजारभन्दा वाहनहरू रहेको थियो, जसको नेतृत्व पार्टीका सेक्रेटेरी जनरल एवम् सिक्किम विधानसभाका उपाध्यक्ष अरूण उप्रेतीले गरेका थिए। पत्रकारहरूसँग कुराकानी गर्दै उप्रेतीले एसकेएम पार्टीको निम्ति आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउ केवल औपचारिकता मात्र रहेको बताए।
उनको भनाइ अनुसार, अब एसकेएम पार्टीले राज्यमा शक्ति प्रदर्शन गरिरहनु पर्ने कुनै प्रकारको आवश्यकता छैन। यस प्रकारको कार ऱ्याली भोलि पनि आयोजना गरिने उनले जानकारी गराए। यस ऱ्यालीको आयोजना गरिनुको मुख्य उद्देश्य आगामी दिनमा सम्पन्न हुने चुनाउमा कुनै प्रकारको हिंसा नहोस् र सबैलाई शान्ति कायम राख्नको निम्ति अपील गर्नु रहेको थियो। एसकेएम पार्टी सिक्किम निर्माणको निम्ति आएको हुनाले गर्दा शान्तिमय वातावरण सृजना गर्नुपर्ने उनले सबैलाई आग्रह गरे। आगामी चुनाउमा एसकेएम पार्टीले ३२-३३ वटा नै सीट जितेर सरकार गठन गर्ने पनि उनले किटान गरे।









