गेजिङ: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सञ्चमान लिम्बू सरकारी डिग्री कलेजबाट बौद्ध विकास कार्यक्रमको शुभारम्भ कार्यक्रममा भर्चुअल माध्यमद्वारा सहभागी बने। केन्द्रिय अल्पसंख्यक मामिला मन्त्री स्मृति जुबिन इरानीले प्रधानमन्त्री जन विकास कार्यक्रम अन्तर्गत उक्त परियोजनाको नयॉं दिल्लीबाट भर्चुअल माध्यमद्वारा शिलान्यास गरिन्।
कार्यक्रममा मुख्यमन्त्रीको साथको केन्द्रिय महिला तथा बाल विकास मन्त्री जोन बारला, मन्त्री सञ्जित खरेल, विभागीय वरिष्ठ अधिकारीगण र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
बौद्ध विकास योजना (बीडीपी) ले देशभरिका बौद्ध जनसंख्याको सामाजिक-आर्थिक विकासलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। प्रारम्भिक रूपमा उक्त योजना पॉंच राज्य/केन्द्र शासित प्रदेशहरू हिमाचल प्रदेश, उत्तराखण्ड, अरुणाचल प्रदेश, सिक्किम, र लद्दाखमा सुरु गरिएको छ।
भारत सरकारले अल्पसंख्यक मामिला मन्त्रालय मार्फत यी क्षेत्रहरूमा कुल ३८ परियोजनाहरूलाई स्वीकृत गरेको छ, जसमा सिक्किमको निम्ति ४३.९८ करोड रूपियॉंको दस परियोजनाहरू आवण्टित गरिएका छन्।
सिक्किमका परियोजनाहरूमा पेमायाङ्त्से, इन्चे, असम लिङ्जे, अप्पर घुर्पिसे, सिच्छे, कार्थोक, लोअर श्रीबदम, बुमटार, तीनधारे भस्मे र मार्तमका भिक्षु विद्यालयहरूका लागि कक्षा कोठा र छात्रावास जस्ता पूर्वाधार विकास समावेश छन्।
यी परियोजनाहरूले यी भिक्षु विद्यालयहरूमा अध्ययन गर्ने बौद्ध भिक्षुहरूका लागि धर्मशास्त्रीय र धर्मनिरपेक्ष शिक्षा प्रदान गर्न राम्रो सुविधा प्रदान गर्ने लक्ष्य राखेका छन्।









