म्याड्रिड: स्पेनिश लीगा फूटबलमा गत सीजनको च्याम्पियन बार्सिलोनाको साथमा गिरोनाले आ-आफ्नो म्याच जित्यो। यसरी एट्लेटिको म्याड्रिड चाहिँ निराशाजनक हारको सम्मुखीन भयो। बार्सिलोनाले शनिवार राति खेलिएको म्याचमा मालोर्का विरुद्ध १-०-ले जसोतसो जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट एकमात्र गोल लामिने यामालले ७३औं मिनटमा छिराए। यस जीतपछि बार्सिलोना २८ वटा म्याचमा ६१ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको तेस्रो स्थानमा रहन पुग्यो। यसरी गिरोनाले पनि गत केही म्याचको खराब प्रदर्शनपछि ओसासुना विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस सीजनमा असाधारण फर्ममा रहने गिरोनाले आफ्नो होम ग्राउण्डमा ६० प्रतिशत पोजेशनको साथ खेल्दै दुवै हाफमा गोल छिरायो। विजेता टीमबाट पोर्तुले १३औं र सावियोले ८६औं मिनटमा गोल गरे। यस जीतपछि गिरोना ६२ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुग्यो। यसबीच एट्लेटिको म्याड्रिडले चाहिँ काडिज विरुद्ध २-०-ले उराठलाग्दो हारको सामना गर्नु पऱ्यो। पोइण्ट्स टेबलमा फेदमा तेस्रो स्थानमा रहने काडिजको तर्फबाट दुवै गोल जुआनमीले छिराए। उनले २४औं र ६४औं मिनटमा गोल गरे। यस जीतपछि काडिज २२ पोइण्ट्सको साथ १८औं स्थानमा कायम रह्यो। यसरी चौथो स्थानमा रहने एट्लेटिको म्याड्रिडसँग ५५ पोइण्ट्स रहेको छ। ला लीगाका अन्य म्याचहरूमा भेलेन्सियाले गेटाफेलाई १-०-ले अनि रियल सोसिएदादले ग्रानाडालाई ३-२-ले पराजित गऱ्यो।









