गान्तोक: सत्तारुढ एसकेएम पार्टी र भारतीय जनता पार्टीको साँठगाँठ सक्किम र सिक्किमेको पहिचानका लागि ज्यादै खतरनाक बनेको आरोप लगाउँदै सिक्किम र सिक्किमेको सुरक्षाको मुद्दामा कांग्रेस पार्टीले चुनाउ लड्ने भएको छ।
सिक्किम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष गोपाल छेत्रीलाई आगामी लोकसभा चुनाउको उम्मेदवार घोषित गरेपछि शनिवार गान्तोकमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय राष्ट्रिय कंग्रेसका सिक्किम प्रभारी गिरीश चोन्करले भाजपा र एसकेएमको साँठगाँठले सिक्किमले पाएको धारा ३७१एफको विशेष अधिकार उढाउन सक्ने सम्भावना रहेको आरोप लगाए।
उनले जम्मू-कश्मीरको उदाहरण दिंदै भाजपा र एसकेएम दुवै सिक्किमको लागि खतरा रहेको बताए। केन्द्र सरकार र राज्य सरकार मिलेर तानाशाही सरकार चलाइरहेको गम्भीर आरोप लगाउँदै सिक्किममा जनतको आवाजलाई दबाउन सरकारले डरको माहोल सिर्जना गरिरहेको बताए।
एसकेएम सरकारले राज्यलाई गलत तरिकाले शासन गरिरहेको छ भन्दै सिक्किम राज्य कांग्रेस प्रभारी गिरीश चोंकरले लोकतन्त्रलाई नदबाउन र जनताको आवाज उठाउने अधिकारलाई बहाल गराउन माग गरेका छन्। उनले जनताले गुमाएका अधिकार र सिक्किममाथि उठ्दै गरेको खतराबारे जनतालाई सचेत गराउॅंदै कांग्रेसले आगामी लोकसभा चुनाउ लड्ने बताए।
राष्ट्रिय कांग्रेसका सिक्किम राज्य प्रभारीले भाजपा-एसकेएम गठबन्धनले सिक्किमलाई फाइदा नभएको बताए। विधायक किन्ने प्रथा भाजपाको सबैभन्दा खतरनाक कार्य रहेको र सिक्किमा पनि यस्तै प्रकारले पसेको भाजपाले एसकेएमसँग मिलेर सिक्किमको पहिचानलाई नै तरलिकरण गरिसकेको बताए। यता केन्द्रको नजरमा प्यारो बन्न एसकेएम सरकार र मुख्यमन्त्री संधै भाजपाको शरण पर्ने गरेको र जनताले गलत कार्यको विरोध गर्दा जनआवाजलाई नै सरकारले दबाउने प्रयास गरिरहेको कांग्रेस प्रभारीले आरोप लगाएका छन्।
सिक्किममा लोकतन्तन्त्रलाई दबाउने काम भएको छ भन्दै कांग्रेस प्रभारी चोन्करले हालै पूर्व विधानसभा अध्यक्ष केएन राईमाथि भएको हमलालाई राज्य प्रायोजित अत्याचार बताए। सिक्किमले राज्यसभामा भाजपा उम्मेदवारलाई पठाउनुलाई उनले भाजपा र मुख्यमन्त्री पिएस गोलेमाझको गोप्य गठबन्धन बताए। सिक्किमका जनतालाई कांग्रेस सरकारले दिएको धारा ३७१एफ तरलिकरण गरेर भाजपाले अप्रत्यक्ष रुपमा सिक्किमको अधिकारको हनन गरिरहेको छ भन्दै कांग्रेसले केन्द्र र राज्य सरकार माझको गलत साँठगाठको जनतामा उजागर गराउँदै चुनाउ लड्ने बताए।
यता प्रदेस कंग्रेस कमिटीका अध्यक्ष तथा लोकसभा उम्मेदवार गोपाल छेत्रीले कंग्रेस पार्टीले सिक्किमका लगभग २५ विधानसभा सीटमा चुनाउ लड्नसक्ने जानकारी दिएका छन्।