गान्तोक: अन्तराष्ट्रीय मानव अधिकार परिषद (आइएचआरसी), सिक्किम शाखाको एक कार्यक्रम आज सिच्छेस्थित एक होटलमा सम्पन्न भयो। उक्त कार्यक्रममा विशेष गरेर संस्थामा आउने नयाँ सदस्यहरूलाई स्वागत जनाउनको साथै खेलकूद क्षेत्रमा सिक्किमको नाम रोशन गर्ने दुई जनालाई अभिनन्दन जनाइयो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा यातायात विभाग अध्यक्ष बसन्त तामाङ रहेका थिए। आजको यस कार्यक्रममा बडी बिल्डर सञ्जय बुढाथोकी र कराँतेमा स्वर्ण पदक विजेता विष्णु कुमार लिम्बूलाई अभिनन्दन जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि बसन्त तामाङले समाज सेवाबाट नै राजनीतिको शुरूवात हुने गरेको उनले जानकारी गराए। आयोजक समितिद्वारा राखिएको विभिन्न मागलाई सम्बोधन गर्दै तामाङले यस क्षेत्रमा विशेष गरेर नशालु पदार्थको लतमा लागेकाहरूको निम्ति पूर्नावास केन्द्र निर्माणको निम्ति राज्य सरकारसँग कुरा चलाउने आश्वासन दिए। नशालु पदार्थ सेवनकर्ताहरूका अभिभावकवर्गलाई विशेष गरेर परामर्श दिनु पर्ने आवश्यकता रहेको उनले महसुस गरे। राज्यका युवाहरूलाई नशालु पदार्थबाट टाडा राख्नको निम्ति खेलकूद क्षेत्रमा प्रोत्साहित गर्नु पर्ने उनले सुझाउ दिए। यसै क्रममा आफ्नो अनुभव साटदै बडी बिल्डर सञ्जय बुढाथोकीले वर्ष २००६ देखि आफूले अभ्यास शुरू गरेको जानकारी गराए। हाल सम्पन्न भइरहेको कमन वेल्थ गेम्समा सिक्किमका कसैले पनि सहभागिता जनाउन नसकेकोमा दुःख व्यक्त गर्दै आगामी दिन हुने कमन वेल्थ गेम्समा सिक्किमबाट एक जना महिला खेलाडी जन्माउने उनले प्रतिवद्धता व्यक्त गरे।सोही प्रकारले कराँते खेलाडी विष्णु कुमार लिम्बूले पनि सम्बोधन गर्दै समाजलाई आफ्नो तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग पुऱ्याउने बचन दिए। उनले जानकारी गराए अनुसार राज्यका युवाहरूलाई आत्मरक्षाको निम्ति निःशुल्क कराँते प्रशिक्षण प्रदान गर्ने बताए।
यस कार्यक्रममा अन्तराष्ट्रीय मानव अधिकार परिषद, सिक्किम शाखाका अध्यक्ष एमबी लिम्बू लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए भने महिला अध्यक्ष सुशिला लिम्बूले धन्यवाद ज्ञापन गरेकी थिइन्।











