काजीरङ्गा(असम): असमको दुई दिवसीय भ्रमणमा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले आज, शनिवार बिहान काजीरङ्गा राष्ट्रिय उद्यानमा हात्ती र जीप सफारीको आनन्द उठाए। काजीरङ्गा राष्ट्रिय उद्यानको कंहरा वनाञ्चलमा जीप सफारी र हात्ती सफारीको माध्यमद्वारा उद्यानको प्रकृतिको मनोरम दृश्यहरू अवलोकन गरे।
प्रधानमन्त्री बिहान ५:४५ बजी काजीरङ्गामा प्रवेश गरे। बिहान ७:१० बजीसम्म काजीरङ्गामा जीप सफारी र हात्ती सफारीको माध्यमद्वारा मनोरम दृश्यहरू हेरे। यसका साथै काजीरङ्गामा नयॉं इतिहास पनि बनेको छ। किनकि, देशका कुनै पनि प्रधानमन्त्रीको यो पहिलो काजीरङ्गा यात्रा हो।प्रधानमन्त्री मोदी बिहान काजीरङ्गाको प्राकृतिक सुन्दरतामा रमाएका थिए। उनी बिहान असम पुलिस गेस्ट हाउसबाट काजीरङ्गाको मिहिमुखको निम्ति प्रस्थान भए। उनले प्रद्युम्न नामक हात्तीमाथि चढेर काजीरङ्गाको भ्रमण गरे। प्रद्युम्न काजीरङ्गाको सबैभन्दा प्रमुख हात्ती हो।

उल्लेखनीय छ, यस अघि राष्ट्रपति द्रौपदी मुर्मूले पनि काजीरङ्गामा प्रद्युम्नमै चढेर उद्यानको भ्रमण गरेकी थिइन्। प्रधानमन्त्री काजीरङ्गाबाट अरुणाचल प्रदेशको निम्ति प्रस्थान भएका छन्। प्रधानमन्त्रीले अरुणाचल प्रदेशमा बहुप्रतीक्षित सुरुङ सेलापासको उद्घाटन गर्नेछन्।










