एसकेएम पार्टी सरकारमा आएपछि चुम्बुङमा धेरै परिवर्तन भएको छः मुख्यमन्त्री तामाङ
गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्लाको चुम्बुङमा नव निर्मित सिमीचुङ भवनको विधिवतरूपमा उदघाटन गरे। प्रेमवादी दर्शन लिएर हिड्ने हेभेन्ली निर्वाणा पाथका अनुन्यायीहरुको प्रार्थना गर्नको निम्ति निर्माण गरिएको भवनको उद्घाटन कार्यक्रममा गुरुहजुर मास्टर गडएन्जल, मन्त्री एमएन शेर्पा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले चुम्बुङमा सिमीचुङ भवन निर्माण हुनुपर्छ भन्ने स्थानीय प्रेमवादीहरुको लामो समय देखिको माग रहेको थियो तर पूर्व सरकारले त्यसलाई कहिले सुनवाई नगरेको बताए। तर २०१९ मा जनता अनि गुरुहजुरको आशिर्वादले एसकेएम पार्टी सरकारमा आएपछि निर्माण गर्ने काम शुरू भएको किटान गरे। यो ठाउँसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफ्नो राजनीतिक यात्रा यही ठाउँबाट शुरु गरेको मुख्यमन्त्रीले पुरानो दिनहरू सम्झना गर्दै यहाँका जनताले दिएको माया साझा गरे। यहाँका जनतालाई आफूले सदैव मुटुमा खोपेर राखेको अनि त्यो गुण कहिल्यै नबिर्सने जानकारी गराए। वर्तमान सरकारले चुम्बुङलाई गाउँदेखि माथि उठाएर शहर बनिनु पर्छ भन्ने हेतुले वर्तमान सरकारले कार्य गरिरहेको अवगत गराए। वर्ष २०१९ मा यो ठाउँ कस्तो थियो अनि अहिले कस्तो भएको सबैलाई थाहा भएको उनले बताए। यो ठाउँलाई मात्र होइन तर राज्यको हरेक गाउँलाई आर्थिक अनि भौतिक रूपले माथि उठाउने उद्देश्यसहित सरकारले काम गरिरहेको जानकारी गराए। सरकारले चुम्बुङमा आईटीआई सेन्टर, नयाँ खेल मैदान, पुलिस आउटपोस्ट, चर्च अनि अनि धार्मिक केन्द्रहरुको निर्माण गर्ने कार्य गरेको बताए। यसका साथै यहाँको प्रत्येक घरमा एक – एक जनालाई नौकरी दिने काम भएको पनि उनले अवगत गराए। जनताले पीएस गोलेमाथि भरोसा गरे कहिले धोका नहुने अनि सबैलाई आवश्यकता अनुसार केही न केही गर्ने निश्चय प्राप्त गर्ने मुख्यमन्त्री तामाङले बताए। आज गरीब जनता सरकार सत्तामा भएको कारण सबै जनताले सरकारबाट विभिन्न सेवाहरु प्राप्त गरेको मुख्यमन्त्रीले थप जानकारी गराए। अब फेरि अर्को चरणमा सिक्किमे जनताको निम्ति यो भन्दा अधिक कल्याणकारी योजनाहरू गर्नको निम्ति अब सबै कार्यकर्ताहरुले दुई महिनासम्म टेबल ल्याम्पलाई अघि राखेर खटेर काम गर्ने आग्रह गरे। आगामी चुनावमा जुन क्षेत्रले अत्यधिक भोट लिएर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उम्मेदवारलाई जिताउँच, त्यो निर्वाचन क्षेत्रमा दोब्बर विकास गर्ने घोषणा गरे।
मुख्यमन्त्रीले प्रसङ्ग फेर्दै पूर्व सरकारले गुरुहजुरलाई सिक्किम आउनबाट प्रतिवन्ध लगाएको थियो, तर एसकेएम पार्टी सरकारमा आउनसाथ सरकारले प्रतिवन्ध हटाएर राज्यमा प्रवेश गर्ने अनुमति दिएको दावी गरे। पूर्व सरकारले राम्रो काम गर्नेहरूलाई प्रतिबन्द लगाउँथ्यो भने वर्तमान सरकारले राम्रो काम गर्नेहरूको निम्ति सदैव ढोका खुल्ला राख्ने गरेको बताए। सरकारले यति मात्र होइन तर नन्दुगाउँमा विश्वस्तरको हिलिङ सेन्टर अनि ध्यान केन्द्रको निर्माण गरेको जानकारी गराउँदै यस प्रकारको योजनाले सिक्किमलाई विश्वस्तरको धार्मिक पर्यटनलाई आकर्षण गर्न सक्ने सम्भावना व्यक्त गरे। पच्चीस वर्षसम्म सिक्किम निर्माणको निम्ति काम गर्न नसक्नेले अब फेरि मौका देऊ काम गर्छु भन्नु हाँस्यपद रहेको बताए। जनताले यसको सबै लेखा जोखा गर्ने पनि सुझाउ दिए। पाँच वर्षको कार्यकालमा सरकारले हरेक तप्काको मानिसहरुको निम्ति गरेको कल्याणकारी योजनाहरूको राष्ट्रस्तरमा प्रशंसा भइरहेको मुख्यमन्त्रीले दावी गरे। अब फेरि पनि सम्पूर्ण सिक्किमे जनताले आफू माथि भरोसा गरेमा आफू त्यसमा प्रतिवद्धता रहने बचन दिए।










