महिलाहरूलाई सशक्त बनाउन राज्य सरकार प्रतिबध्त छः मन्त्री खरेल
गान्तोक: राज्यको महिला एवम वाल विकास विभागको पहलमा आज राजधानीस्थित चिन्तन भवनमा अन्तराष्ट्रीय महिला दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा मन्त्री सञ्जीत खरेल रहेका थिए भने विशिष्ट अतिथिमा प्रोफेसर डा. सन्धया थापा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले वर्तमान सरकारले महिलाहरूलाई सशक्त बनाउनको निम्ति विभिन्न प्रकारको योजना शुरू गरेको अवगत गराए। विशेष गरेर महिलाहरूलाई आर्थिक र सामाजिकरूपमा सक्षम बनाउने उद्देश्यले सरकारले आमा, बहिनी जस्तो योजना शुरू गरेर उनीहरूलाई समाजमा सबल बनाउने कार्यक्रमको थाल्नी गरेको बताए। यसरी नै पञ्चायत चुनाउमा पनि महिलाहरूलाई ५० प्रतिशत सीट आरक्षण गर्नको साथै अध्यक्ष र उपाध्यक्षको पदमा पनि महिलाहरूलाई नै मनोनित गरेको किटान गरे। हाल राज्यको विभिन्न विभागमा महिलाहरू ठूलो ठूलो पदमा रहेको र जानकारी गराए। उनले थप जानकारी गराए अनुसार महिलाहरू समाजमा सक्रिय भएर काम गरेको खण्डमा महिलाहरूले नै खुट्टा तान्ने गर्दछ, यसर्थ महिलाहरूलाई अघि बढाउनको निम्ति महिलाहरूले नै खुट्टा तान्ने प्रथा अन्त गर्नुपर्ने सुझाउ दिए। आगामी दिनमा सिक्किम विधानसभामा पनि महिलाहरू संख्या बढदै जाने उनले सम्भावना व्यक्त गरे। वर्तमान सरकारले महिला र पुरूषबीच कुनै प्रकारको भेदभाव नराखी काम गर्दै आएको फलस्वरूप राज्यका धेरै महिलाले अवसर प्राप्त गरेको दावी गरे। उनले महिलाहरूलाई एकताको सुत्रमा बाँधिने आग्रह गर्दै यदि महिलाहरूमा एकता नभएको खण्डमा पुरूषवर्गले थिचोमिचो गर्ने पनि अवगत गराए। यसै क्रममा मन्त्री खरेलले राज्यका महिलाहरूलाई सशक्त बनाउने उद्देश्यले छ वटा जिल्लामा वाहन पनि उपलब्ध गराए।
आजको यस कार्यक्रममा प्रोफेसर डा. सन्ध्या थापाले अन्तराष्ट्रीय महिला दिवसको महत्व र औचित्यबारे प्रकाश पारिन्। उनले वर्तमान परिपेक्ष्यमा प्रत्येक क्षेत्रमा महिलाहरू अघि आएको र यसलाई निरन्तरता दिएको खण्डमा अवश्य पनि महिलाहरू पुरूष भन्दा पछि नपर्ने जानकारी गराइन्।










