खरसाङ: खरसाङ खण्ड अन्तर्गत प्राणी सम्पदा विभागको आयोजनामा खरसाङको तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा दुई दिवसीय प्राणी सम्पद प्रदर्शनी र सेमिनारको आयोजना गरिने भएको छ। महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको बाघमारा बस्तीमा उक्त कार्यक्रम आगामी ११ र १२ मार्चको दिन सम्पन्न हुने भएको छ। उक्त दुई दिवसीय कार्यक्रमको लागि आज तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र प्राणी सम्पदा विभाग खरसाङ खण्डको बीएलडीओ नेहार भौमिकले बाघमारा बस्तीको निरीक्षण भ्रमण गरेका छन्। दुवैले कार्यक्रम स्थलको निरीक्षण गरेका छन्। उक्त दुई दिवसीय कार्यक्रममा उन्नत प्रजातिको प्राणी सम्पदा प्रदर्शनी र ग्रामीण क्षेत्रमा पशु पालनमार्फत् पशु पालकहरूमा कसरी आर्थिक स्थिति सुधार गर्न सकिन्छ भन्ने विषयमा सेमिनारको पनि आयोजना गरिने भएको छ। यसको साथै विभिन्न पशुहरूको दबाई वितरण र भ्याक्सिनको पनि व्यवस्था गरिने जानकारी प्राप्त भएको छ।

उक्त दुई दिन पशु पालकहरूको लागि सरकारबाट प्राप्त विभिन्न सहुलियतहरू पनि वितरण गरिने भएको छ भने कुनै पनि सरकारी योजनाहरू विषयमा जानकारी लिन चाहे पनि उपलब्ध गराइने भएको छ। उक्त दुई दिवसीय प्राणी सम्पद प्रदर्शनी र सेमिनारको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्ड विकास प्राणी सम्पदा विभागको बीएलडीओ नेहार भौमिक र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।